काठमाण्डौ । अमेरिकाले विश्वका गरिब देशहरुलाई कोरोनाविरुद्धको खोपको ५० करोड डोज सहयोगस्वरुप बाँड्ने भएको छ।

अमेरिकी मिडियाहरुका अनुसार राष्ट्रपति जो बाइडन प्रशासनले सन् २०२१–२२ मा १०० गरिब देशहरुमा खोपको ५० करोड डोज बाँड्ने निर्णय गरेको हो। जसमा यो वर्ष २० करोड डोज र अर्को वर्ष ३० करोड डोज बाँडिने बताइएको छ। 

अमेरिकाले फाइजरको खोप किनेर बाँड्ने योजना बनाएको छ। यी खोप कोभ्याक्सअन्तर्गत बाँडिनेछ।

अमेरिकामाथि गरिब देशहरुमा खोप उपलब्ध गराउन लगातार दबाब बढिरहेको मिडियाहरुले जनाएका छन्। सोही कारण अमेरिकाले यस्तो निर्णय लिएको बताइएको छ। 

यद्यपि ह्वाइट हाउसले भने विश्वभर खोपको ५० करोड डोज बाँड्ने विषयमा आधिकारिक रुपमा योजना सार्वजनिक गरिसकेको छैन। अमेरिकी सरकारले विश्वभर खोप वितरणको कस्तो रणनीति लिएको छ भन्ने विषयमा अमेरिकी सञ्चारकर्मीहरुले जिज्ञासामा राष्ट्रपति बाइडनले भने, ‘मसँग एउटा योजना छ, म छिटै घोषणा गर्नेछु।’

राष्ट्रपति बाइडनको यो अभिव्यक्तिले पनि अमेरिकाले छिटै ५० करोड डोज वितरणको योजना सार्वजनिक गर्ने अनुमान गरिएको छ। – एजेन्सी