काठमाण्डौ । अमेरिकी डलर ३० महिनाअघिकै न्यून विन्दूमा झरेको छ । अमेरिकी अर्थतन्त्र कमजोर बन्दै जाँदा पछिल्लो समय डलरको भाउ निरन्तर घट्दो क्रममा देखिएको हो । 

बिहीबारका लागि नेपाल राष्ट्रबैंकले प्रति अमेरिकी डलरको खरीद र बिक्री दर क्रमशः १०१.३६ र १०१.९६ रुपैयाँ तोकेको छ। 

बुधबार अमेरिकी डलर अझ बढी अवमूल्यनमा परेको थियो । यो दिन खरीददर १०१ रुपैयाँ २७  पैसा र बिक्री दर १०१ रुपैयाँ ८७ पैसा थियो । 

सन् २०१५ को जुलाई २३ का दिन समेत अमेरिकी डलरको भाउ बिहीबारकै विन्दूमा थियो । त्यसपछिका कुनै पनि दिन डलरको भाउ यति धेरै अवमूल्यन भएको थिएन ।

अमेरिकी डलर कमजोर हुँदै गर्दा नेपाली मुद्रा बलियो बन्दै गएको छ । नेपाली मुद्राको भारुसँग स्थिर विनिमयदर कायम छ । यहीकारण भारु बलियो भन्दा नेपाली मुद्रा समेत बलियो बन्ने गर्छ । 

के फाइदा, के घाटा ?
अमेरिकी डलर कमजोर बन्दा देशले गर्नुपर्ने अन्तराष्ट्रिय भुक्तानीहरु सस्तो पर्न जान्छ । आयातमुखी अर्थतन्त्र भएको हिसाबले आयातको लागत घट्नेछ । पेटोलियम पदार्थ तथा अन्य उपभोग्य वस्तुुको आयात लागत घटेर महंगी नियन्त्रणमा सहयोग पुुग्नेछ । अर्कोतर्फ, अमेरिकी डलर कमजोर बन्दा देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स घट्नेछ । कारण, नेपाली कामदारहरुले काम गरिरहेको ठाउँमा डलरमा भुक्तानी पाउँछन् । त्यो पैसा नेपालमा पठाउँदा घट्नेछ। 

यस्तै, अमेरिकी डलर कमजोर भन्दा सरकारले तिर्नुपर्ने वैदेशिक ऋणहरुको भार केही कम पर्नेछ भने निर्यातमुखी व्यापारबाट हुने आम्दानी भने घट्नेछ ।