काठमाण्डौ । केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ ऐतिहासिक स्तरमै कमजोर भइरहेको छ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार एक अमेरिकी डलरको बिक्री मूल्य १३३.५७ रुपैयाँ रहेको छ।
पछिल्लो समय लगातार आकाशिँदै गएको अमेरिकी डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । यो दिन एक अमेरिकी डलरको खरिददर चाहिं १३२.९७ रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार नेपाली मुद्रामा डलरको यो विनिमयदर हालसम्मकै उच्च हो । यसअघि गत असोज ३० गते एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ५५ पैसा थियो ।
विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन हुने गरेको छ। नेपाली मुद्राको भारतीय रुपैया(भारु) सँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।
नेपालीहरुको लागि डलर यति महँगो भएको यो इतिहासमै पहिलो पटक हो । अमेरिकी डलरको तुलनामा भारुको तीव्र अवमूल्यन जारी रहँदा केहि समययता कयौं पटक डलरको तुलनामा नेपाली रुपैयाँ (नेरु) को भाउ कीर्तिमानी न्यून स्तरमा झरेको छ ।जसका कारण आयातमा पूर्णत निर्भर नेपालको आयातको खर्च आकासिएको छ।
सीमापार डलर बलियो बनेको अनि भारतको पूँजी बजारबाट विदेशी लगानी बाहिरने क्रम जारी रहँदा पछिल्लो समय रुपयाँको भाउ दबाबमा परेको छ ।भारतको अपेक्षाकृत कमजोर निर्यात तथ्यांकका कारण पनि गत हप्ता रुपयाँमाथिको दबाब झन बढेको हो ।
हुन त पछिल्लो समय डलरको तुलनामा तीव्र अवमूल्यनको सामना गर्ने भारु एक मात्रै उदीयनमान बजारको मुद्रा भने होइन ।यो मात्र नभई रुस युक्रेन युद्धपछि अस्थिर बनेको विश्व अर्थतन्त्रका कारण डलरको तुलनामा फिलिपिनी पेसो,मलेशियाली रिङ्गिट,दक्षिण कोरियाली वन, इन्डोनेशियाली रुपी,पाकिस्तानी रुपिया र टर्किश लिराको मूल्य पनि आश्चर्यजनक रुपमा घटिसकेको छ ।
सन् १९९३ यता नेपाली रुपैयाँ र भारुको विनिमय दर एक भारु बराबर १ रुपैयाँ ६० पैसामा यथावत् छ ।अर्थात् नेरु र भारुबीच स्थिर आबद्धता छ ।
एउटा देशको मुद्रालाई अर्को देशको मुद्रासँग स्थिर आबद्धता राखिँदा जस्तो सुकै अनुकूल वा प्रतिकूल अवस्थामा पनि ती दुई देशबीचको मुद्रा विनिमय दर स्थिर रहन्छ ।
नेपाली रुपैयाँ र भारुबीचको साइनो
नेपालमा सन् १९३२ मा मात्रै रुपैयाँ प्रचलनमा पाइन्छ । सन् १९५६ मा स्थापना भएको नेपाल राष्ट्र बैंकले नेरु र भारु दुबैलाई वैधानिक मुद्राको मान्यता दिएको थियो ।
सन् १९५७ मा नेपाल मुद्रा प्रचलन र विस्तार ऐन आएपछि द्वैध मुद्रा प्रणाली खारेज भयो । अनि राष्ट्र बैंकले १०० भारु बराबर १६० नेपाली रुपैयाँमा नेरुलाई भारुसँग आबद्ध गर्यो । सन् १९६६ मा भारतले भारुको तीव्र अवमूल्य गरेको बेलामा १०० भारु बराबर १०१ नेरु कायम भएको थियो । सन् १९८५ देखि सन् १९९० को बीचमा विनिमय दर १००भारु बराबर १६८ नेरु रह्यो । तर सन् १९९३ यता यो १०० भारु बराबर १६० नेपाली रुपैयाँमा स्थिर छ ।अर्थात् विगत तीन दशकमा आबद्धता दरमा कुनै हेरफेर भने भएको छैन ।-एजेन्सीको सहयोगमा
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19