काठमाण्डौ । अमेरिकी डलर फेरि सर्वाधिक महङ्गो बनेको छ। 

नेपाल राष्ट्रबैंकका अनुसार जारी नोभेम्बर महिनाको ११ र १२ तारिखमा रेकर्ड अमेरिकी डलरको हालसम्मकै उच्च मूल्य मंगलबार(आज) पनि कायम भएको हो । 

नोभेम्बर ११ र १२ तारिख हालसम्मकै उचाईमा पुगेको डलरको भाउ केही घटेर १३२ रुपैयाँसम्म झरेको थियो । तर, मंगलबार पुनः बढेर अलटाइम हाईमै पुगेको हो । 

मंगलबारका लागि केन्द्रीय बैंकले अमेरिकी डलरको खरीद दर १३३.०५ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३३.६५ रुपैयाँ पुगेको छ । 

अमेरिकी डलर महङ्गो हुँदा नेपालजस्तो कमजोर आर्थिक अवस्था भएको तथा आयात व्यापारमा निर्भर अर्थतन्त्रका लागि निकै ठूलो सकस हुन्छ । तर, नेपाल भित्रिने रेमिटान्समा भने निकै ठूलो टेवा पुग्छ । 

सरकारले अन्तराष्ट्रिय निकाय तथा नियोगहरुबाट लिने ऋण डलरमै स्वीकार गर्ने भएकोले यसको भाउ बढ्दा ऋण तथा त्यसको नियमित ब्याज तिर्न सकस पर्छ । डलर महङ्गिँदा त्यस्तो लागत बढ्न जान्छ । 

विभिन्न देशबाट विभिन्न सामान आयात गर्दा डलर नै चाहिने भएकोले त्यस्तो आयात महङ्गो पर्न जान्छ । जसका कारण नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्र सकसमा पर्नसक्छ । 

तर, नेपाली अर्थतन्त्रको मेरुदण्ड रेमिटान्स पनि भएकोले त्यसमा पनि टेवा पुग्नेछ । विभिन्न देशमा काम गर्ने नेपाली कामदारहरुले डलरमै भुक्तानी पाउने भएकोले उनीहरुले नेपाल पैसा पठाउँदा त्यो बढ्न पुग्छ ।

हुन त नेपाली रुपैयाँको अमेरिकी डलरसँग सोझो सम्बन्ध भने छैन । भारतीय रुपैयाँसँगको विनिमय दरका आधारमा अमेरिकी डलरको विनिमय दर निर्धारण हुने गर्छ । यसको अर्थ भारतीय रुपैयाँ जति कमजोर भयो त्यसले नेपाली रुपैयाँलाई थप कमजोर बनाउँछ भने भारु बलियो बन्दा नेपाली रुपैयाँ पनि बलियो बन्न पुग्छ । भारु १०० को नेपाली रुपैयाँसँगको विनिमय दर रु. १६० रहेको छ । लामो समयदेखि भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम छ ।