– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साता ५ कारोबार दिनमा ३ दिन सेयर बजार बढ्यो भने २ दिन घट्यो। यसै साता मंगलबार नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दु पनि चुम्यो। यो दिन परिसूचक २९६०.१४ को विन्दुमा पुगेको थियो। 

यो साताभरि नेपालको सेयर बजारको इतिहासमै उच्च कारोबार भयो। साताभरि ८३ अर्ब १३ करोड रुपैयाँभन्दा बढी कारोबार भएको छ। जुन गत साताको तुलनामा झन्डै १६ अर्ब रुपैयाँ बढी हो। साप्ताहिक रुपमा भने दैनिक औसत १७ अर्ब रुपैयाँ कारोबार भएको छ। 

कारोबार र परिसूचक दुवैमा देखिएको बढोत्तरीले बजार बुलिस ट्रेन्डमै रहेको मान्न सकिन्छ। यही बुलिस बजारमा लगानीकर्तामाझ चर्चा चलिरहेको अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई प्राविधिक तथा आधारभूत रुपमा विश्लेषण गर्ने कासिस गरेका छौँ। 

सरकारको नारा छ– ‘नेपालको पानी, जनताको लगानी।’ अहिले देशमा सानाठूला गरी करिब ४० वटा जलविद्युत कम्पनी सञ्चालनमा छन्। यी कम्पनीले धेरै–थोरै देशको जीडीपीमा राजस्व तथा रोजगारीको योगदान गरेको देखिन्छ। 

तिनै जलविद्युत कम्पनीमध्ये देशकै सबैभन्दा पुरानो कम्पनी हो, अरुण भ्याली हाइड्रोपावर। यो कम्पनीको १३ मेगावाट क्षमताको जलविद्युत आयोजना संखुवासभा जिल्लामा रहेको छ। यो आयोजनामा विद्युत उत्पादनका लागि जर्मनी मेसिन प्रयोग गरिएको छ। 

यो कम्पनीको रिडी हाइड्रोमा ४० प्रतिशत लगानी रहेको छ। यो कम्पनीका लगानीकर्तामा ग्लोबल आइएमई बैंक र हिमालयन ऊर्जा विकास कम्पनी पनि छन्। हिमालयन ऊर्जाले खिम्ती १ र खिम्ती २ आयोजनामा लगानी गरेको छ। 

रिडी हाइड्रोको सबैभन्दा ठूलो प्रमोटर कम्पनी अरुण भ्याली नै हो। अरुण भ्यालीले आफ्नै आम्दानीबाट थप ४४ मेगावाटका जलविद्युत् आयोजनाहरु बनाउँदैछ। यो कम्पनीको लगानीमा १० मेगावाटको काबेल बी वान क्यासक्येट बन्दैछ। जुन भदौमा सकिन्छ। यसबाट कम्पनीले वार्षिक ३६ करोड आम्दानी गर्छ।

अर्को काबेली १ अन्तर्गत १५ मेगावटको बन्दैछ। जसको पीपीए रेट ६-६ महिनाको दरले हिउँदमा ८.४० रुपैयाँ रहेको छ भने बर्खामा ४.८० रुपैयाँको रहेको छ। 

यो कम्पनीको अरुण काबेलीमा ३६ प्रतिशत लगानी रहेको छ। यसैगरी अरुण भ्यालीले सोलुको बुधुमखोलामा १६ मेगावाटको जलविद्युत आयोजना बनाउँदैछ। 

यी सबै हिसाब गर्दा अरुण भ्याली ब्लुचिप कम्पनी हुने कम्पनीका सञ्चालक गुरु न्यौपाने बताउँछन्। ‘भदौमा काबेली बी १ सकिएपछि थप निर्माणका लागि यो कम्पनीले ५० प्रतिशत हकप्रद आउनेछ’, उनले भने, ‘हालै निष्कासन गरिएको ५० प्रतिशत हकप्रदमा बिक्री नभएका ४.६३ लाख कित्ता सेयर असार ३ गतेबाट अक्सनमा आउने र यसबाट पनि १२ करोड रुपैयाँबराबर नाफा हुनेछ।’

चालु आर्थिक वर्षको तेस्रो त्रैमास रिपोर्टअनुसार ७ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीको चुक्तापुँजी १ अर्ब ४ करोड रुपैयाँ र रिजर्भमा ९ करोड ७७ लाख रुपैयाँ रहेको छ। कम्पनीको ईपीएस ९.०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.३२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६३.६३ रुपैयाँ र पीई रेसियो २८.८८ गुणा रहेको छ। 

प्राविधिक पक्ष 

इलिअट वेभ तथा फिवोनासीका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। ती अनुपातहरु क्रमशः २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत रहेका छन्। फिवोनासी र इलिअट वेभलाई मिलाएर यो कम्पनीको विश्लेषण गर्दा आगामी दिनमा सेयरभाउ बढेमा १.६१ प्रतिशतको वृद्धि ५५० रुपैयाँसम्म पुग्ने देखिन्छ। त्यसैगरी २.६१ प्रतिशतको वृद्धिले ६४० रुपैयाँसम्म, ३.६१ प्रतिशतको वृद्धिले ७२५ रुपैयाँसम्म र ४.२३ प्रतिशतको वृद्धिले ७९० रुपैयाँसम्म पुग्ने देखिन्छ। (तस्बिर माथि हेर्न सकिन्छ)

फिवोनासी रिट्रसमेन्टका आधारमा 

यो औजारको आधारमा यदि आगामी दिनमा बजार घटेमा ०.२३ प्रतिशतको टेवा ४९७.४ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवा ४८०.२३ रुपैयाँसम्म र ०.५ को टेवा ४६५.८१ रुपैयाँसम्म झर्ने देखिन्छ। 

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत जुन ९ का दिन यो कम्पनीको सेयरमा खरिद सिग्नल (हरियो एरोले देखाएको) बनेको देखिन्छ। जसले खरिद सिग्नल अझै भ्यालिड रहेको देखिन्छ। हिस्टोग्राम (कालो एरोले देखाएका धर्काहरु) पोजेटिभ र लामा–लामा हुँदै गएकोले केही समय बुलिस नै रहने अनुमान लगाउन सकिन्छ।

बोलिंगर ब्यान्डका आधारमा

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। दैनिक चार्टअन्तर्गत यो औजारका अनुसार यो कम्पनीको मूल्यरेखाले माथिल्लो ब्यान्डलाई छोएको तथा सेयरको अन्तिम कारोबारको मैनबत्ती लामो हरियो बनेकोले सेयर मूल्य बढ्न सक्ने अनुमान लगाउन सकिन्छ। हिस्टोग्राम क्रमशः पोजेटिभ र लामा–लामा बनेकोले बुलिस रहेको अनुमान गर्न सकिन्छ।

आरएसआई विन्दुका आधारमा

यो विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो कम्पनीको हालको आरएसआई ७६.८१  रहेको छ। जसको अर्थ कम्पनी ओभर बट जोनको नजिक छ भन्ने हो र अघिल्लोपटक यो विन्दु ७६.७३ को तहमा पुगेपछि करेक्सन आएको थियो। यो कम्पनीको आरएसआई ३७.७५ को तल्लो विन्दुमा आएपछि मूल्य उकालो लागेको थियो। बुलिस बजारमा यो विन्दु लामो समय ओभर बट जोनमा र बियरिस बजारमा लामो समय ओभर सोल्ड जोनमा पनि रहन सक्छ।

पिभट विश्लेषणका आधारमा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी कम्पनीको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध

प्रतिरोध १– ५३४

प्रतिरोध २– ५४२

प्रतिरोध ३– ५५८

पिभट पेइन्ट– ५१८

घटेमा सर्पोट

सपोर्ट १– ५१०

सर्पोट २– ४९४

सर्पोट ३– ४८६

नोट : सेयेर बजारमा लगानी सधैँ जोखिमपूर्ण हुन्छ। विभिन्न प्राविधिक औजारले फरक–फरक संकेत गरेका हुन्छन्। लगानीकर्ताले लगानी गर्दा कुनै एउटालाई मात्रै आधार नमानेर समग्र अध्ययन गरी आफ्नो विश्लेषण र क्षमताअनुसार गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस होइन।