काठमाण्डौ । अरुण काबेली पावरले हकप्रद सेयर निष्कासनको मिति सच्चाएको छ। 

कम्पनीले आज एक सूचना प्रकाशित गरी आउँदो भदौ ११ गतेदेखि आफ्ना सेयरधनीका लागि हकप्रद सेयर बिक्री खुला गरिनेछ। यो हकप्रदको निष्कासन बन्द भने भदौ ३१ गते बैंकिङपछि हुने कम्पनीले जनाएको छ। 

कम्पनीले हिजो सूचना प्रकाशित गरी हकप्रद सेयर आउँदो भदौ ८ गतेदेखि निष्कासन हुने र भदौ २८ गते बैंकिङ समयपछि बन्द हुने जानकारी गराइएको थियो। 

कम्पनीले चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गर्नेछ। 

सेयरधनीहरुले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। हकप्रदमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ गत असार २५ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ असार २४ गतेसम्म कायम सेयरधनीले यो हकप्रदमा आवेदन दिन पाउनेछन्। 

हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ।

अरुण काबेली पावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।