काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक रहेको बताएका छन् ।

शनिबार नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न परम्परागत रुपमा भन्दा पनि सबै पक्षहरुलाई एकै ठाउँमा राखेर सबैको धारणा बनाउनु आवश्यक रहेको बताए ।

उनले भने, ‘पछिल्लो समय विदेशी मुद्रा सञ्चिति,पर्यटकमा बृद्धि, बैंकमा तरलता सहजता भएको अवस्था छ । पछिल्लो विभिन्न तथ्यांकले अर्थतन्त्रमा सुधार हुँदा अर्थतन्त्रको सूचकहरूमा पनि सुधार हुँदै गएको अवस्था छ।’ उनले यसले अर्थतन्त्र पूर्ण चलायमान बनाउन विश्वास बढाउने बताए ।

उनले अर्थतन्त्रमा देखिएका समस्याका कारण सर्वसाधारणहरू लगानी गर्न डराइरहेको भन्दै सबै निकायहरुको साझा एजेण्डा अर्थतन्त्र सुधार गर्ने भएमा भने मुलुकले खोजेको अर्थतन्त्र चलायमान हुने पनि बताए । उनले अहिले एक आपसमा आरोपप्रत्यारोप गर्नेभन्दा पनि कहाँ–कहाँ कसरी बढ्न सकिन्छ भने बहस गरी अगाडि बढ्न आवश्यक रहेको बताए।