काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र सुधारका उपायबारे सोमबार अपरान्ह चार बजे बैठक बोलाएका छन् ।

उनले अर्थतन्त्रको अहिलेको अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न अन्तरनिकाय बैठक बोलाएका हुन्।

बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरू सहभागि हुनेछन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा मुलुकको अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने कामबारे छलफल केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

योसँगै निजी क्षेत्र, राजनीतिक दलहरू, विज्ञ र सरोकारवालाहरूसँग पनि प्रधानमन्त्रीले छलफल गर्ने बताइएको छ ।

केहि दिनअघि मात्र प्रधानमन्त्री प्रचण्डले मंसिर ४ गते अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएको भन्दै त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने र बैठकले ठोस प्याकेज घोषणा गर्ने बताएका थिए ।