काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो एक वर्षमा मुलुकको अर्थतन्त्रमा अपेक्षाकृत राम्रो सुधार भएको बताएका छन् ।

सोमबार अर्घाखाँचीमा आयोजित कार्यक्रममा उनले आफ्नो एक वर्षको कार्यकालमा अर्थतन्त्र डुब्यो भन्ने आतंकबाट मुक्त भएको बताए ।

उनले भने, यस अवधिमा अर्थतन्त्रमा महत्वपूर्ण सुधार आएको छ । विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठूलो प्रगति भएको छ। पर्यटन आगमनमा गुणात्मक बृद्धि भएको छ। बैंकको ब्याजदरमा कटौती, सहकारी र लघुवित्तका समस्याको सम्बोधन, भुक्तानी सन्तुलन, विप्रेषणमा बृद्धिका साथै शिथिल भएको उद्योग–व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको छ। यो खुसीको कुरा हो। त्यसैले उत्साही भएर काम गरौं ।’

आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केहि नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धिमूलक बनाउने उनको भनाइ छ ।

उनले एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन हुँदै गएको पनि दाबी गरे ।

आफू नियमित रूपमा विहान १० बजेभित्रै कार्यालय  पुगेर मन्त्रालयको रिपोर्टिङ लिने गरेको भन्दै उनले लक्ष्य अनुसार काम गर्ने कर्मचारीको जिम्वेवारी हेरफेर हुने पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले आर्थिक संकटका कारण मुलुकका विभिन्न स्थानमा अघिल्लो वर्ष मेला महोत्सवहरू हुन नसकेको उल्लेख गर्दै यसवर्ष भने अभियानकै रुपमा महोत्सवहरू आयोजना हुनु अर्थतन्त्र सुधारका शुभसंकेत भएको पनि बताए।