काठमाण्डौ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच बैंकको ब्याजदर घटाउने विषयमा मतभेद देखिएको छ। 

शुक्रबार अर्थ मन्त्रालयमा आर्थिक पत्रकार संघ (नाफिज)का प्रतिनिधिहरुसँगको भेटमा अर्थमन्त्री डा प्रकाशशरण महतले त्यस्तो संकेत गरेका हुन्। उनले अहिले पनि राष्ट्र बैंक महँगी नियन्त्रणमा फोकस भइरहेको तर तत्कालीन आवश्यकता ब्याजदर घटाउने रहेको उल्लेख गरे। ‘हामीजस्तो आयातमा आधारित अर्थतन्त्रमा वस्तुको मूल्य आन्तरिक कारणले कम प्रभावित हुन्छ तर राष्ट्र बैंक प्राइसिङ कन्ट्रोलमै फोकस देखिन्छ’, डा महतले भने, ‘तर, आजको आवश्यकता सबैलाई महसुस हुने गरी ब्याजदर घटाउनु रहेको छ।’

अर्थ मन्त्रालयले महसुस हुने गरी ब्याजदर घटाउने विषयमा आवश्यक सबै प्रयासहरु गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले बैंकहरुको पनि ब्याजदर नियन्त्रणमा महत्वपूर्ण भूमिका हुने जिकिर गरे। ‘बैंकहरुका कतिपय पोलिसी रेटहरु चलाएर भए पनि ब्याजदर घटाई सबै पक्षलाई राहात दिनुपर्ने आवश्यक छ’, उनले थपे, ‘सरकार यो विषयमा गम्भीर छ।’

अर्को एक प्रसंगमा डा महतले आगामी आर्थिक वर्षको बजेट निर्माणको काम तीव्रगतिमा अगाडि बढेको र त्यसका लागि टिमसमेत छनौट भइरहेको जानकारी दिए। ‘आगामी वर्षको बजेट बनाउँदा सरकारले मितव्ययी नीति अपनाउनु, नगरी नहुनेबाहेकको खर्च कटौती र धेरै ठूला योजनामा बजेट छर्नुभन्दा काम देखिने गरी निश्चित योजनाहरुमा मात्र बजेट खन्याउने हिसाबले आवश्यक तयारीसमेत गरिनेछ’, उनले भने।