काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा फेरि नयाँ स्टक एक्सचेन्जका विषयमा छलफल हुने भएको छ। 

अर्थ समितिको आज १३ औँ बैठक बसिरहेको छ। बैठक बिहान ११ बजेबाट सुरु भइसकेको छ। 

बैठकमा नयाँ स्टक एक्सचेन्जलगायत ३ वटा विषयमा समितिले आन्तरिक छलफल गर्नेछ। यी ३ वटा विषयमाथिको छलफल दोस्रो कार्यसूचीमा रहेको छ। जसअनुसार नयाँ स्टक एक्सचेन्ज, मौद्रिक नीति र १६औँ पञ्चवर्षीय योजनाका विषयमा छलफल हुनेछ। 

अहिले कार्यसूचीको पहिलो अजेन्डा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षाका सम्बन्धमा छलफल भइरहेको छ। बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महत र सचिव (अर्थ र राजस्व)सँग समितिका पदाधिकारीले छलफल गरिरहेका छन्। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्ज ल्याउने आवेदन खुला गरेपछि चर्को आलोचना भएको थियो। यो विषयलाई लिएर सर्वोच्च अदालतमा समेत मुद्दा चलेको थियो। पछि सर्वोच्च अदालतले यो मुद्दामा क्लिन चिट दिएको थियो। तर, मन्त्रिपरिषदको बैठकले भने तत्काल नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया स्थगित गर्ने निर्णय गरेको थियो। 

हाल नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया रोकिए पनि पुनः आज अर्थ समितिमा आन्तरिक छलफल हुन लागेको हो।