काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को ३० औँ वार्षिकोत्सवमा अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारमा देखिएको समस्या समाधानका लागि आज ‘सुझाव समिति’ गठन गरेका छन्। चार सदस्यीय समितिमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकको प्रतिनिधि छन्।
समितिमा लगानीकर्ता प्रतिनिधि नराखिएसँगै लगानीकर्ताले फेसबुक, ट्विटर, भाइबरलगायतका सामाजिक सञ्जालहरुमा विरोध गर्दै आएका छन्। समितिबारे लगानीकर्तामात्र नभएर सेबोनकै कर्मचारीहरुको पनि असन्तुष्टि राखेका छन्।
सुझाव समितिको संयोजकत्वको जिम्मा सेबोनका कार्यकारी निर्देशक निरज गिरीले पाएसँगै सेबोनका कर्मचारीहरुले उक्त निर्णयबारे गुनासो साथै आक्रोश राखेका छन्। अबको एक हप्तामा नै जेठबाट अवकाश पाउन लागेका गिरीलाई सुझाव समितिको संयोजकत्व दिएपछि सेबोनका कर्मचारीले उक्त निर्णयविरुद्ध आफूहरूले आक्रोश पोखेका हुन्।
केही कर्मचारीले आवश्यक परे यस्ता विषयको आफूहरुले सेबोनमा खुलेर विरोध गर्नेसमेत जनाएका छन्। उक्त निर्णय सेबोनका कर्मचारीहरुले स्वीकार नगर्ने जनाएका छन्।
यसअघि पनि अवकाश पाउन लागेका गिरीले राष्ट्र बैंकका कर्मचारी जस्तै बिदामा नबसी सेबोनको महत्वपूर्ण विभागको नेतृत्व दिएको भन्दै सेबोनका कर्मचारीहरुले गुनासो राखेका थिए। सेबोनका कर्मचारीहरुले विगतका दिनमा पनि निरज गिरीले सेबोन नै कब्जा गर्ने गरेको आरोपसमेत लगाउँदै आएका छन्।
‘विगतका दिनमा पनि समिति गठन हुँदा गिरीको नै नेतृत्वमा गठन हुने गरेको थियो। लगानीकर्ताले राखेका ५८ बुँदेका लागि गठन भएको समिति कहाँ छ ? उक्त समितिले के गर्यो?’, प्रश्न गर्दै सेबोनका एक उच्च अधिकारीले भने, ‘गिरीको नै नेतृत्वमा विगतमा पनि सेबोनमा धेरै समितिहरु गठन भइसकेका छन्। समितिको बैठकको नाममा उनले तलब भत्तामात्र लाखौँ बुझिसक्नु भइसकेको छ।’
‘यो सुझाव समिति पनि गिरीकै नेतृत्वमा गठन भएको हो भने लगानीकर्तालाई फेरि पंगु बनाउने काममात्र हुनेछ’, ती अधिकारीले भने, ‘लगानीकर्ताले समितिले केही गर्ला भन्ने आश नगरे पनि हुन्छ। बीसौँ वर्षसम्म केही गर्न नसकेकाले सात दिनमा के नै गर्छन् होला र?’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19