काठमाण्डौ । असारबाट सेयर कारोबार हप्ताको ६ दिनै हुने भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आज बसेको सञ्चालक समितिको बैठकले सार्वजनिक बिदाका दिनबाहेक हप्तामा आइतबारदेखि शुक्रबारसम्म सेयर कारोबार खुला गर्ने निर्णय गरेको हो।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले हप्तामा ६ दिन (आइतबारदेखि शुक्रबारसम्म) सेयर कारोबार खुला गर्ने निर्णय भएको बताए। ‘सार्वजनिक बिदाबाहेक अब हप्तामा ६ दिन सेयर कारोबार खुला गर्ने निर्णय छ’, उनले भने। 

पराजुलीका अनुसार आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म सेयर कारोबार हुनेछ। ‘शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सेयर कारोबार हुनेछ’, उनले भने। 

यसअघि सरकारले जेठबाट परीक्षणका रुपमा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर तीव्र आलोचनाबीच सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ।

यसअघि दुई दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेसँगै सेयर बजार पनि सोमबारदेखि शुक्रबारसम्म खुला गर्ने निर्णय गरिएको थियो। सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेसँगै नेप्सेले पनि हप्तामा ६ दिन नै सेयर कारोबार खुला गर्ने निर्णय लिएको हो। 

त्यसअघि भने सेयर बजार हप्ता ५ दिन आइतबारदेखि बिहीबारसम्म खुल्ने गरेको थियो।