काठमाण्डौ । लक्ष्मी लघुवित्त बित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई आगामी असोज १४ गतेदेखि सतप्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ । 

आइतबार यो कम्पनीले एक सूचना प्रकाशन गर्दै आगामी असोज १४ देखि सतप्रतिशत हकप्रदका लागि सेयरधनीहरुले प्रक्रिया थाल्नुपर्ने जनाएको हो । 

हकप्रद भर्नका लागि आगामी कात्तिक १८ गतेसम्मको मिति समेत तोकिएको छ । 

लक्ष्मी लघुवित्तले १ सय रुपैयाँ अंकित मूल्यको कुल ११ लाख कित्ता हकप्रद निश्कासन गर्न लागेको हो । यो कम्पनीको हकप्रदका लागि बुक क्लोजको मिति २०७३ भदौ २६ गतेलाई तोकिएको छ । बुक क्लोजरको मितिभन्दा ठीक एकदिनअघि यो संस्थाको सेयर आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन सक्ने बताइएको छ । 

लक्ष्मी लघुवित्तको हकप्रद निश्कासन तथा व्यवस्थापनमा एनएमबी क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

इच्छुक सेयरधनीहरुले हकप्रदका लागि काठमाण्डौको नक्साल स्थित एनएमबी क्यापिटलको मुख्य कार्यालय तथा एनएमबी बैंकका देशैभरिका कार्यालय र लक्ष्मी लघुवित्तको मुख्य कार्यालय तथा शाखा कार्यालयबाट समेत आवेदन भर्नसक्ने व्यवस्था मिलाइएकोे छ । 

हाल यो लघुवित्त कम्पनीको चुक्तापूँजी ११ करोड रुपैयाँ रहेको छ । हकप्रदको व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी २२ करोड रुपैयाँ पुग्नेछ । 

यो माइक्रोफाइनान्सको अधिकृत पूँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीमा सर्वसाधारण प्रोमोटर सेयर स्वामित्व ७० : ३० रहेको छ । 

सेप्टेम्बर ८ को मूल्य अनुसार यो कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य ३२५० रुपैयाँ रहेको छ । यो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७२/७३ को अवधिमा ६ करोड २४ लाख खूद मुनाफा आर्जन गरेको थियो ।