काठमाण्डौ । नजिकिँदै गरेको दशैंको पूर्वसन्ध्यामा राजधानीमा थाइल्याण्ड-नेपाल दशैं फेष्टिवल आयोजना हुने भएको छ । 

सायम लङचङ बैंकको आयोजना यही असोज १४ गते शुक्रबारदेखि १८ गते मंगलबारसम्म फेष्टिभल आयोजना हुन लागेको हो । 

फेष्टिभलले नेपाल र थाइल्याण्डको व्यवसायिक सम्बन्ध बिस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ ।

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी फेष्टिभलको आयोजकले ‘थाईल्याण्ड–नेपाल दशैं फेष्टिवल २०१६’ मा नेपाल, थाइल्याण्ड र बंगलादेशको गरी १ सय ५० बढी प्रदर्शनी कक्षहरु रहने जानकारी दिएको छ । 

नेपालका लागि थाई राजदुताबास, थाइल्याण्ड नेपाल चेम्बर अफ कमर्श तथा ललितपुर उद्योग वाणिज्य संघको विशेष सहयोगमा आयोजना हुन लागेको फेष्टिभलले नेपाल र थाइल्याण्डबीचको व्यवसायिक सम्बन्ध बिस्तारमा टेवा पुग्ने विश्वास आफूहरुले लिएको नेपालका लागि थाई राजदुत भुटी भुटीसान्टले बताए । 

थाई एयरवेजले प्रवद्र्धन गरेको फेष्टिबलले गुणस्तरीय उत्पादनको प्रयोगमा नेपाली उपभोक्तालाई अभ्यस्त बनाउन सहयोग पुग्ने विश्वास आयोजकको छ । 

सिन्थेसिस एक्विजिसन्स एण्ड इभेण्ट्स प्रालिको व्यवस्थापनमा काठमाण्डौंको भृकुटिमण्डपस्थित प्रदर्शनीकक्षमा आयोजना हुने एक्स्पोमा ३० भन्दा बढी बंगलादेशी व्यवसायीहरुले आफ्ना उत्पादनहरुको प्रदर्शन तथा बिक्री बितरण गर्ने छन् । त्यसैगरी थाइल्याण्डका ४० भन्दा बढी व्यवशायीको पनि फेष्टिबलमा सहभागिता रहनेछ ।

मेलामा निर्माण सामग्री, तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्यपदार्थ  छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, जुत्ता चप्पल, विद्युतीय सामग्रीका स्टल रहनेछन् ।