काठमाण्डौ । अस्वभाविक रुपमा बढिरहेको बजारमा सम्हालिएर लगानी गर्न भन्दै नेपाल धितोपत्र बोर्डले तेश्रोपटक लगानीकर्ताहरुलाई सचेत हुन आग्रह गरेको छ । 

सानो भन्दा सानो कारणले पनि बजार प्रभावित भई अस्वभाविक रुपमा बढिरहेको बजारले जोखिम बढाएको र सम्हालिएर लगानी नगरेका कारण जुनसुकै बेला समस्या आउन सक्ने भन्दै बोर्डले सचेत गराएको हो । 

'पूँजी बजारमा सहभागी भई लगानी गर्नु लगानीकर्ताको हक हो भने लगानीकर्ताहरुलाई बजार, सूचिकृत संगठित संस्थाहरु एवम् अर्थतन्त्रको यथार्थ स्थिति अवगत गराई उनीहरुको हकहितको संरक्षण गर्ने जिम्मेवारी र कर्तव्य बोर्डको हो ।' लगानी सतर्कता अपनाउने सम्बन्धमा भन्दै बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ-'धितोपत्रमा गरिने लगानी जोखिमरहित नहुने हुँदा समग्रमा देशको अर्थतन्त्र, सूचिकृत संगठित संस्थाहरुको कार्य सम्पाद तथा बित्तीय स्थिति लगानीकर्ता स्वयम् जोखिम बहन गर्ने क्षमता आदिलाई हेरेर धितोपत्रमा लगानी गर्नु उपयुक्त हुन्छ ।' 

नेप्सेमा सूचिकृत कम्पनीहरुको कार्यसम्पादन र बित्तीय स्थिति सामान्य स्तरमा तथा समग्र देशको आर्थिक वृद्धि १ प्रतिशतभन्दा तल रहेकोमा धितोपत्र बजारको सूचकांक नेप्से इण्डेक्स निरन्तर रुपमा बढ्दै  उच्च विन्दूमा आइसकेको भन्दै बोर्डले चिन्ता व्यक्त गरेको छ । बोर्डले समग्र अर्थतन्त्र सामान्य रहेको अवस्थामा नेप्से इण्डेक्स मात्र बढ्नुलाई बजारको जोखिम बढ्दै गएको भनेर विश्लेषण गरेको छ ।

'यसरी बजारमा बढ्दै गएको जोखिम समेतलाई दृष्टिगत गरी आफ्नो लगानी सम्बन्धी विवेकपूर्ण निर्णय लिन आम लगानीकर्ताहरुमा अनुरोध छ ।'-विज्ञप्तिमा भनिएको छ ।