काठमाण्डौ । अहिले दोस्रो बजारमा धेरैजसो हाइड्रोपावर कम्पनीको सेयरभाउ २०० रुपैयाँ आसपासमा रहेको छ। 

घट्दो बजारमा हकप्रदको बाढी र आईपीओको उच्च सप्लाईका कारण अहिले धेरैजसो हाइड्रोपवार कम्पनीको सेयरभाउ २०० रुपैयाँ आसपासमा झरेको हो। अघिल्लो बियरिस बजारमा पनि धेरैजसो हाइड्रोपावर कम्पनीको सेयरभाउ १०० रुपैयाँभन्दा तल आएको थियो। कुनै समयमा रिडी हाइड्रोपावरको सेयरभाउ पनि दोस्रो बजारमा ९०० रुपैयाँ नै पुगेको थियो। तर, अहिले रिडी पावरको सेयरभाउ २०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

दोस्रो बजारमा कुनै पनि कम्पनीको सेयर यति नै भन्ने त हुँदैन। बजारले निर्धारण गर्ने हो। तर, केही कम्पनीको सेयर कम भोलुम भएका कारण नै दोस्रो बजारमा १ हजार रुपैयाँसम्म पनि पुर्याइएको उदाहरण थुप्रै छन्। 

कुथेली बुखरी स्मल हाइड्रो कम्पनीको सेयर लगातार ८ दिन सर्किट हानेर ९६० रुपैयाँसम्म पुर्याइएको छ। यो कम्पनीको अन्तिम कारोबार ८८२ मा बन्द भएको छ। 

दोस्रो बजारमा यो कम्पनीको चर्चा पनि धेरै नै सुनिन्छ। लगानीकर्ताले कहिले नाम नै अनौठो मानेर त कहिले सेयरभाउ धेरै उचालिएकोमा चर्चा गर्छन्। 

ब्रोकर हाउसमा भेटिएका लगानीकर्ता दिपेश महर्जन कुथेली बुखरी स्मल हाइड्रोको सेयरभाउ उचालिएको कुनै अनौठो मान्दैनन्। ‘यो कम्पनीको जम्माजम्मी १ लाख कित्ता सेयर होला। त्यसैले दोस्रो बजारमा ४८० रुपैयाँमा पहिलो कारोबार खुल्यो’, उनले भने, ‘यो कम्पनीको सेयरभाउ लगातार सर्किट लागेर र कर्नरिङ गरेर १ हजार रुपैयाँ नजिक पुर्याइयो। जुन नेपालको सेयर बजारमा अनौठो कुरा होइन।’

यो कम्पनीको सेयरभाउ पनि अब हकप्रदको बाढी ल्याएर केही समयमै रिडीकै जस्तै हुने महर्जनको भनाइ छ। ‘अपर तामाकोशीको हालत त यस्तो छ, अरुको के होला ?’, उनले भने, ‘नियामक निकायले पनि हेर्नुपर्ने हो। बजारमा जे भए पनि केही मतलब छैन। नियामक मस्त छ।’ 

नियामकले बेलैमा उचित कदम नचाल्दा यस्ता कम्पनीहरुमा सोझा–साझा लगानीकर्ता फस्दै आएको महर्जनको भनाइ छ। ‘अस्वाभाविक ढंगले यो कम्पनीको सेयरभाउ उचालिएको छ, फस्ने भनेका साझा लगानकर्ता नै हुन्’, उनले भने। 

यो कम्पनीको सेयरको ब्रोकर होल्डिङ नियाल्दा १ सातादेखि ब्रोकर नम्बर ४९ र ५८ बाट उच्च बिक्री भएको छ भने ब्रोकर नम्बर ४२ र ३९ बाट उच्च  खरिद भएको छ।