काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना  नियन्त्रण, रोकथाम र उपचारका लागि भएको खर्चमा नभई कोभिड– १९ बारे चिन्ता लिन सांसदसँग आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको शीर्षकमाथि उठेका प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री ओलीले भने, 'कहीँ कतै दुरुपयोग भएकै हुन सक्दैन भनेर म दावी गर्दिन, भएकै छ भनेर सोच्नुपर्ने स्थिति पनि देख्दिन, अहिले कोरोना रोकथाम र उपचारका लागि भएको खर्चको हिसाबको चिन्ता नगरौँ, कोभिड– १९ को चिन्ता गरौँ ।'

राष्ट्रिय संकटका बेला, सिङ्गो दुनियाँमा यस्तो विपद् आइलागेका बेला यदि कसैले भ्रष्टाचार गर्छ भने कुनै हालतमा सह्य हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने  दृढता व्यक्त गरे। 

कोरोना नियन्त्रण र रोकथामका लागि भएको खर्चको हिसाब महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र  आन्तरिक लेखा परीक्षकबाट हुने व्यवस्था रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले अहिले भएको खर्चमा पारदर्शिता कायम गरिने भएकाले चिन्ता नगर्न उहाँले सांसदलाई सुझाव दिए। 

नेपालमा हालसम्म पहिचान भएकामध्ये ८५ प्रतिशतभन्दा बढी  भारतबाट आएका व्यक्तिमा कोभिड –१९ संक्रमण भेटिएको बताउँदै प्रधानमन्त्री ओलीले ठूलो संख्यामा परीक्षण गर्नुपरेका कारण केही अव्यवस्था देखिए पनि व्यवस्थापनमा सुधार ल्याउने प्रयास भइरहेको जानकारी दिए। 

कोभिड –१९ संक्रमणलगत्तै भारतबाट हालसम्म दुई लाख २२ हजार ६१४ जना नेपाली स्वदेश आएकामा हाल दैनिक पाँच हजार हाराहारीमा आएका छन् । एकलाख ६५ हजार ७७५ जना क्वारेन्टाइनमा छन् । ठूलो संख्यामा एकैपटक क्वारेन्टिनमा राख्नुपरेको र  पिसिआर टेष्ट गर्नुगरेको बताउँदै प्रधानमन्त्री ओलीले हालसम्म चार हजार ८५ जनामा कोरोना संक्रमण भेटिएको र संक्रमितमध्ये ५८४ जना उपचारपछि निको भएर घर फर्केको जानकारी दिए।