काठमाडौं। आँखुखोला जलविद्युत कम्पनीले निश्कासन गरेको प्राथमिक शेयर(आइपीओ) सबै आवेदकले पाएका छन् । 

आइतबार बिहान भएको बाँडफाँडको क्रममा आइपीओ खरीदका लागि आवेदन दिने सबैले १० कित्ताको दरले र ४७ हजार ४ सयले थप १० कित्ता पाएका छन् । 

कम्पनीले आयोजना प्रभावितले समेत खरीद नगेकोसहित असोज २३ देखि २६ गतेसम्म १३ लाख ७६ हजार २० कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो। 

निश्कासित कुल कित्तामध्ये म्युचुअल फण्डहरुले ६८ हजार ८ सय १ कित्ता प्राप्त गरेका छन् भने कम्पनीका कर्मचारीको भागमा २७ हजार ५ सय २० कित्ता परेको छ । 

बाँकी १२ लाख ७९ हजार ६ सय ९९ कित्ता सर्वसाधारणमा बाँडफाँड गरिएको सिभिल क्यापिटलले जनाएको छ । 

क्यापिटलका अनुसार पहिलो चरणमा रितपुर्वक आवेदन दिने ८३ हजार ३ सय १५ जनाले १० कित्ताको दरले शेयर प्राप्त गरे । त्यसपछि बाँकी रहेको ४ लाख ७४ हजार कित्ता गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । सो क्रममा दोश्रो चरणको गोलाप्रथाबाट ४७ हजार ४०० जनालार्इ थप १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको थियो । यसरी ४७ हजार ४ सय जनाले २० कित्ताको दरले प्राप्त गरेका छन् भने अन्य ३५ हजार ९ सय १६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । 

क्यापिटलका अनुसार ६१ वटा आवेदकबाट परेको १६ हजार २ सय ८० कित्ताको आवेदन रद्ध भएको छ । कम्पनीको सेयरमा ८३ हजार ३ सय १६ जनाले आवेदन दिएका थिए ।