काठमाण्डौ । आँधिखोला र धौलागिरी लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया लगभग भाँडिएको छ।

झन्डै डेढ वर्षअघि यी दुई लघुवित्तबीच मर्जरमा जाने प्रारम्भिक सहमति बनेको थियो। दुवैतर्फ मर्जर समितिले मर्जरका लगभग सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका थिए। तर अन्तिम अवस्थामा आएर मर्जर भाँडिएको हो। 

यी दुवै लघुवित्तबीच १ः१ सेयर स्वाप रेसियामा मर्जरमा जाने सहमति भइसकेको थियो। आपसमा गाभिएपछि धौलागिरी आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड नाम राख्ने र केन्द्रीय कार्यालय पोखरामा राख्ने मोटामोटी सहमति पनि बनेको थियो। सञ्चालक समितिमा दुवै लघुवित्तका ३–३ जना सञ्चालक बस्ने सहमति पनि भएको थियो।

बागलुङको श्रीनगरमा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्तका एक अधिकारीले आफूहरुले मर्जर प्रक्रिया नतोडेको बताए। ‘हामी त अझै पनि मर्जरमा जानेमा पक्षमा छौँ, नेपाल राष्ट्र बैंकले निर्देशन दिएमा हामी आँधिखोलासँग मर्जरमा जान तयार छौँ’, ती अधिकारीले भने। 

यदि आँधिखोलाले मर्जर तोड्न खोजेको हो भने अहिलेसम्म भएका सबै खर्च उसले तिर्नुपर्ने ती अधिकारीको भनाइ छ। ‘किनकि मर्जर विनियमवालीमै जसले मर्जर तोड्छ उसैले लागेको खर्च व्यहोर्नुपर्छ भन्ने स्पष्ट उल्लेख छ’, उनले भने।

आँधिखोला लघुवित्तका एक उच्च अधिकारी भने दुवै लघुवित्तबीचको मर्जर प्रक्रिया लगभग तोडिएको बताए। ‘विभिन्न कारणहरु छन्, ती सबै कुरा भन्न मिल्दैनन् तर मर्जर लगभग तोडिएको छ’, ती अधिकारीले भने, ‘त्यसैले हाम्रोतर्फबाट डिमर्जका लागि राष्ट्र बैंकमा प्रक्रिया सुरु भइसकेको छ।’

मर्जर प्रक्रिया सुरु भएसँगै आँधिखोला लघुवित्तको धितोपत्र कारोबार २०७६ पुस ३ गतेदेखि नेप्सेले रोक्का राखेको छ। लामो समयदेखि सेयर कारोबार नखुल्दा लगानीकर्ता आक्रोशित भएका छन्। ‘हाम्रो पैसा खाएर आँधिखोला लघुवित्त कहाँ भाग्यो, लौन खोजिदिनुपर्यो’, एक लगानीकर्ताले भने। 

आँधिखोला लघुवित्तले भने अब डिमर्जको प्रक्रिया सम्पन्न भएलगत्तै सेयर कारोबार खुल्ने जनाएको छ। ‘यो प्रक्रिया छिटो सक्न हामी प्रयासरत छौँ’, आँधिखोला स्रोतले भन्यो, ‘छिटै सेयर कारोबार खुल्छ।’

स्याङ्जाको भीरकोटमा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्तमा नेप्सेमा कुल १० लाख कित्ता सूचीकृत छ। यसमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारण ४० प्रतिशत सेयर स्वामित्व छ। 

यसको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ४६५ रुपैयाँ कायम भएको छ।