काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ भोलि शनिबार बाँडफाँड गरिने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड गर्न लागेको हो। आईपीओ बाँडफाँड कार्यक्रम क्यापिटलको सुन्धारास्थित कार्यालयमा बिहान ११ बजे राखिएको छ। 

कम्पनीले गत असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणका लािग आईपीओ बिक्री खुला गरेको थियो। 

कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट आफ्नो जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको थियो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३६.९१ रुपैयाँमा आईपीओ जारी गरेको थियो। 

कम्पनीले पहिलो चरणमा कुल कित्ताको १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको थियो। कुल कित्ताको ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी रहेको ९६ लाख कित्ता सेयरमा भने सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

यो आईपीओमा अन्तिम दिन साँझसम्म १२ लाख ९० हजार ७४१ आवेदकबाट कुल १ करोड ५७ लाख ८७ हजार १५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.६४ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।