काठमाण्डौ । नेपालमै पहिलो पटक लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी स्टार्टअप अवार्ड २०१६ को अन्तिम चरणमा १० कम्पनी छानिएका छन् ।

उद्यमी घर बानेश्वरमा आयोजित १५ कम्पनीहरुको प्रेजेन्टेशन र अन्तवार्तापछि निर्णायक मण्डलले उत्कृष्ट १० कम्पनी छानेको हो । 

आइसिटी स्टार्टअप अवार्ड २०१६ मा उत्कृष्ट १० मा अटाउन सफल कम्पनीहरुमा एमिनेन्स वेज, गुर्खा टेक प्रालि, आइटेक नेपाल प्रालि, कुल टेक्नो ल्याब, मन्त्र आइडिया, फुन्का टेक्नोलोजिज, सस्तो डिल प्रालि, स्मार्ट समाज, ह्वाइट स्पेस प्रालि र यल्लो नेपाल रहेका छन् । 

असार ८ गते आयोजना हुने लिभिङ विथ आइसिटीको चौथो वार्षिकोत्सवको अवसरमा उत्कृष्ट ४ कम्पनी घोषणा गरिनेछ । यसका लागि निर्णायक मण्डलका तर्फबाट प्राप्त अंकका अतिरिक्त अनलाइन र एसएमएस मतलाई समेत आधार मानिने आयोजकले जानकारी दिएको छ ।

उत्कृष्ट ४ छान्न अनलाइन तथा एसएमएस भोटिङको सोमबार बेलुकीदेखि खुल्ला गरिएको आयोजकले जनाएको छ । अनलाइन तथा एसएमएस भोटिङको समयावधी ३ दिनको रहने आयोजकले जानकारी गराएको छ । भोटिङ परिणामलाइ समेत आधार मानी असार ८ गते आयोजना हुने विशेष कार्यक्रममा उत्कृष्ट ४ को घोषणा गरिने निर्णायक समूहका संयोजक सुशील पोखरेलले जानकारी दिए ।

यसैबीच, उत्कृष्ट १० मा पर्न सफल कम्पनीहरुले मंगलबारदेखि अनलाइन र एसएमएस भोट माग्न थालेका छन् । मन्त्र आइडियाजका संस्थापक अशोक बस्नेतले नेपालमै पहिलो पटक लिभिङ विथ आइसिटीले स्टार्टअपलाई सम्मान गर्ने कार्यक्रम राखेकोमा धन्यवाद दिदै आफ्नो कम्पनी उत्कृष्ट १० मा अटाएको खुसी व्यक्त गरे । त्यसैगरी उत्कृष्ट १० मा पर्न सफल ह्वाइटस्पेसका संस्थापक आशिष आचार्यले आइसिटी स्टार्टअप अवार्डले युवालाई नेपालमै उद्यमशीलतामा लाग्न प्रोत्साहन गरेको भनाइ राख्दै यसको निरन्तरताको कामना गरे ।

एसएमएसबाट भोटिङ गर्नका लागि :
उत्कृष्ट १० मा रहेका कम्पनीहरुलाइ एसएमएसबाट भोटिङ गर्न सकिनेछ । यसको लागि मोवाइलको म्यासेज बक्समा गई ICT लेखी एक स्पेस दिएर award टाइप गरी आफूले भोट गर्ने कम्पनीको कोड नम्बरलेखि ३२२०० मा एसएमएस गर्न सकिनेछ । 

अनलाइन भोटिङका लागि :
अनलाइनबाट पनि उत्कृष्ट ४ छान्नको लागि भोटिङ गर्न सकिनेछ । यसको लागि award.livingwithict.com/poll मा गएर आफूलाई मन परेको कम्पनीको प्रोफाइल अध्ययन ग री ‘क्लिक टु भोट’ मा गएर कम्पनी छानेर कुनै एकलाइ भोट गर्न सकिनेछ ।