काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का कारण नेपाली अर्थतन्त्र समस्यामा परेको दाबी गर्दै त्यहाँबाट नेपाल सरकारले लिएको ऋण फिर्ता गर्नुपर्ने बताएका छन्। 

महासंघले बिहीबार राजधानीमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आईएमएफबाट लिइएको सानो ऋणका कारण अर्थतन्त्र जोखिममा पर्छ भने त्यो पैसा फिर्ता गर्नुपर्नेे बताएका हुन्। विकास साझेदारहरुसँग सरकारले सुमधुर सम्बन्ध राख्नुपर्ने र त्यस्ता साझेदारहरुले पनि अर्थतन्त्र सुधारका लागि उपयुक्त सल्लाह–सुझाव दिनुपर्नेमा उनको जोड थियो। 

आईएमएफको नाम उच्चरण नगरी ढकालले भने, ‘कुनै साझेदार दिएको सानो लोनका कारण अर्थतन्त्र बन्धक हुन्छ भने त्यो ऋण फिर्ता गरौँ। यदि हाम्रा सूचकहरु सकारात्मक छन् भने त्यस्ता साना लोन लिइरहन आवश्यक छैन।’

पछिल्लो समय आर्थिक विश्लेषकहरुले आईएमएफबाट लिइएको सानो लोनका कारण राष्ट्र बैंकले उसैको दबाबमा नीतिहरु बनाइरहेको भन्दै चर्को आलोचना गर्दै आएका छन्। आईएमएफकै गलत नीतिका कारण श्रीलंका टाँट पल्टिएको र त्यस्तैखाले नीति नेपालमा समेत लाद्न खोजी नेपाल राष्ट्र बैंकलाई दबाबमा राखेको भन्दै बुद्धिजीवीहरुले पनि आईएमएफसँगको ऋण सम्बन्ध अन्त्य गर्नुपर्ने सुझाव दिइरहेका छन्।