– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । छिमेकी मुलुक भारतमा नेपालबाट बर्सेनि हजारौँ मानिस रोजगारीका लागि जाने गरेका छन्। खुला सीमा र अन्य देशभन्दा सजिलै अर्थात बिनाभिसा जान सकिने भएकाले नेपालीहरु काम खोज्दै भारत पस्ने गरेका छन्। 

कामको खोजीमा भारत जानेमा धेरैजसो सीमावर्ती जिल्लाका नेपालीहरु छन्। उनीहरु देशमा रोजगारी नहुँदा सानातिना कामका लागि पनि भारत जाने गरेका छन्। केही नेपालीले भारतमा राम्रै ठाउँमा अवसर पनि पाएका छन्। तर, धेरैजसो सामान्य काम गरेर जीविकोपार्जन गर्नेहरु नै छन्। 

पछिल्लो समय नेपालको सेयर बजारमा आईपीओ जारी गर्दा विदेशमा रहेका नेपाली श्रमिकका लागि कोटा छुट्याउने व्यवस्था लागू गरिएको छ। योसँगै भारतमा काम गरिरहेका नेपालीले पनि आफूहरुले अन्य मुलुकमा काम गरिरहेका नेपालीसरह आईपीओमा छुट्याइएको कोटाअन्तर्गत सेयर भर्न पाउनुपर्ने माग गर्न थालेका छन्। 

नेपाल सरकारले चालु आर्थिक वर्षदेखि विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओमा १० प्रतिशत कोटा छुट्याउनुपर्ने व्यवस्था ल्याएको हो। यो कोटा प्रणाली भनेको सम्बन्धित देशबाट श्रम स्वीकृति र नेपाली अनुमति लिएर विदेशमा काम गर्नेहरुको हकमा मात्र लागू हुन्छ । यसका लागि श्रम स्वीकृतिसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपालमा पैसा पठाउन रेमिट्यान्स खाता खोलेको हुनुपर्ने, खाता न्यूनतम ५० हजार रुपैयाँ जम्मा गरेको हुनुपर्ने र त्यही खाताबाट आईपीओ भर्न पाइने प्रावधान राखिएको छ। 

यो व्यवस्था गर्नुको मुख्य उद्देश्य भनेको वैधानिक बाटोबाट रेमिट्यान्स नेपाल भित्र्याउनु नै रहेको छ। 

सीडीएससीका अनुसार यो व्यवस्था लागू भएपछि अहिलेसम्म १७ हजारले रेमिट्यान्स खाताबाट आईपीओ भर्न सीआरएन नम्बर लिएका छन्। ‘जहाँसम्म भारतमा काम गरिरहेका नेपालीले आईपीओ भर्न पाउने वा नपाउने भन्ने विषयको निक्र्यौल धितोपत्र बोर्डले नै गर्ने हो’, सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले भने, ‘हामीले धितोपत्र बोर्डले जे भन्छ त्यही गर्ने हो।’

धितोपत्र बोर्डका प्रवक्ता मुक्तिबहादुर श्रेष्ठले श्रम स्वीकृति लिएर भारतमा काम गरिरहेको र रेमिट्यान्स खाता खोली पैसा पठाइरहेको भए आईपीओमा छुट्याइएको कोटामा सेयर भर्न पाउने बताए। ‘भारतमा पनि उच्च पदमा काम गर्नेहरुले त्यहाँबाट श्रम स्वीकृति लिएको हुन सक्छ’, उनले भने, ‘उनीहरुले प्रक्रिया पुर्याएको खण्डमा आईपीओको कोटा प्रणालीबाट लाभान्वित हुन सक्छ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरे अहिलेसम्म नेपालबाट अनुमति लिएर भारतमा नेपालीहरु काम गरिरहेको रेकर्ड नै नरहेको बताउँछन्। ‘तर, भारत गएर उतै श्रम स्वीकृति लिएर काम गरिरहेका नेपालीहरु पनि हुन सक्छन्’, उनले भने, ‘किनकि नेपालीहरु जुन देशमा काम गर्न जान्छन्, त्यहीबाट श्रम स्वीकृति लिने हो, नेपालले त्यसमा अनुमतिमात्रै दिने हो।’

त्यसैले यदि भारतमा गएर श्रम स्वीकृति लिएर काम गरिरहेका नेपालीले प्रक्रिया पूरा गरेको खण्डमा हाल नेपालमा छुट्याइएको आईपीओको कोटा प्रणालीमार्फत सेयर भर्न पाउन सक्ने घिमिरे बताउँछन्।