काठमाण्डौ । प्राथमिक शेयरमा गरेको लगानीले राम्रो प्रतिफल पाउन सकिदो रहेछ भन्ने उदाहरण हाथवे इन्भेस्टमेन्ट लिमिटेडको आईपीओले पुष्टि गरेको छ । 
गत मंगलबारमात्रै नेपाल  स्टक एक्सचेञ्ज(नेप्से) मा उक्त कम्पनीको आईपीओ सूचीकृत भएको थियो ।

तर सूचीकृत भएको भोलिपल्ट अर्थात् बुधबार नै कम्पनीको शेयरमूल्यले राम्रो भाउ पाएको छ । यो दिन  स्पेशल प्रिओपन सेसनमा  कम्पनीको आईपीओ  प्रतिकित्ता २८५.२० रुपैयाँमा किनबेच भएको थियो । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयरभाउ ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३१३.७० पुगेको छ । यस अर्थमा कम्पनीका सेयरधनीहरु लगानी गरेको एक महिनामै मालामाल भएका छन् ।

कम्पनीका शेयरधनीले १ हजार लगानी गर्दा २० कित्ताका दरले आईपीओ पाएका थिए । यसअधारमा पनि कम्पनीका लगानीकर्ताले लगानी गरेको एक महिनामै ६ हजार २७४ रुपैयाँ पाएका छन् । अर्थात् उक्त कम्पनीबाट पहिलो दिन नै लगानीकर्ताले ६ गुणा बढी प्रतिफल पाएका छन् । 

यसैगरी बुधबार नै स्पेशल प्रि ओपन सेसनमा कारोबार भएको माण्डू हाइड्रोपावरको सेयरभाउ पनि ४.५८ प्रतिशतले बढेको  छ।यो दिन कम्पनीको  शेयरभाउ ५.३१ प्रतिशतले बढेर प्रतिकित्ता ३९३रुपैयाँ पुगेको छ ।  यो समाचार तयार पार्दाको समय अपरान्ह १ बजोसम्ममा  हाथवेको सर्वाधिक अर्थात् २ करोड ६७ लाखभन्दा बढीको कारोबार भएको छ । यसैगरी मान्डू हाइड्रोको ३ करोड ५३ लाखभन्दा बढीको कारोबार भएको छ ।

प्राथमिक बजारबाट छोटो समयमा राम्रो प्रतिफल प्राप्त हुन थालेपछि शेयर बजारप्रति आजभोलि सर्वसाधारण मात्र होइन गृहिणी तथा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

 चाहे अभिभावकले दिएको पैसा होस वा खर्च कटौती गरेर होस उनीहरुले विभिन्न कम्पनीले खुला गरेको आईपीओ नछुटाइकन भर्ने गरेका छन् । जसले गर्दा प्राथमिक बजारमा आईपीओ भर्ने उनीहरुको  संख्या दिनप्रतिदिन बढिरहेको छ ।

प्राथमिक बजारमात्र होइन दोस्रो बजारमा लगानी गर्नेहरुले कम्पनीको आधारभुत पक्ष राम्रोसँग केलाएर लगानी  गर्ने हो भने  बजार ट्रेण्ड अफ एण्ड डाउन जे भए  पनि दिर्घकालीन रुपमा राम्रो प्रतिफल पाउन सकिन्छ ।