– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरले चालु आर्थिक वर्षभित्रै आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ। 

नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश्वरलाल श्रेष्ठले चालु आर्थिक वर्षभित्रै आईपीओ निष्कासन गर्नका लागि आवश्यक तयारी गरिरहेको जानकारी गराएका हुन्। ‘आईपीओ जारी गर्नका लागि आवश्यक नीति बनाउने काम भइरहेको छ’, बिजशालासँगको कुराकानीमा सीईओ श्रेष्ठले भने, ‘आईपीओ निष्कासनका लागि कम्पनीले सोहीअनुसार नतिजा र प्रदर्शन देखाउन पनि आवश्यक हुन्छ, त्यसका लागि हामीले भरपूर मेहनत गरिरहेका छौँ। यदि हामीले सोचेअनुसार काम गर्न सक्यौँ भने चालु आर्थिक वर्षभित्रै सर्वसाधारणका लागि आईपीओ जारी गर्न सक्छौँ।’

सीईओ श्रेष्ठले सर्वसाधारणका लागि कम्पनीले १ अर्ब ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने पनि जानकारी दिए। ‘यसमा कर्मचारी र सामूहिक लगानीकर्ताका लागि केही प्रतिशत सेयर छुट्याइनेछ’, उनले भने। 

नागरिक स्टक डिलरमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत रहेको छ भने बाँकी ३० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ।

नागरिक स्टक डिलरको हाल चुक्तापुँजी साढे ३ अर्ब रुपैयाँ रहेको छ। डिलरको आईपीओ निष्कासनपछि चुक्तापुँजी ५ अर्बको हुनेछ।

नागरिक स्टक डिलरले सेयर बजारमा संस्थागत लगानीकर्ताको अभाव पूर्ति गर्ने र बजारको स्थायित्वका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। यस विषयमा राखिएको जिज्ञासामा सीईओ श्रेष्ठले अझै धेरै काम गर्न बाँकी नै रहेको र गर्दै जाने पनि बताए। ‘बजारमा आमलगानीकर्ताले गरेको अपेक्षाअनुरुप नै नागरिक स्टक डिलरले बजारको स्थायित्वका लागि काम गर्नेछ’, उनले भने।

श्रेष्ठका अनुसार नागरिक स्टक डिलर ५ वर्षे रणनीति बनाएर अगाडि बढिरहेको छ। ‘यो रणनीतिलाई मूर्त रुप दिन अहिले नियामक निकायबाट नीति बनाउने काम भइरहेको छ’, उनले भने। 

बजारको स्थायित्वका लागि नागरिक स्टक डिलरले काम गरिरहेको सीईओ श्रेष्ठको दाबी छ। ‘बजार बढेको बेला सप्लाई दिन हामीसँग पनि त्यहीअनुसारको भोलुममा सेयर हुनुपर्छ र बजार तल आएको बेला खरिदका लागि बजेट हुनुपर्छ’, श्रेष्ठले भने, ‘हामीसँग बजेटको अभाव छैन तर योजनाअनुरुप अगाडि बढ्न नियामक निकायबाट आउने नीतिको प्रतीक्षामा बसेका छौँ।’ 

नागरिक स्टक डिलरले आमलगानीकर्तालाई ब्रोकरेज सुविधा पनि दिने विषयमा पनि सोचिरहेको सीईओ श्रेष्ठले जानकारी दिए। ‘बास्केट फन्ड निर्माण, पोर्टफोलियो तथा लगानी व्यवस्थापनको काम पनि गर्नेछौँ’, उनले भने।