– अनन्त्य सुन्दर

काठमाण्डौ । सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा संलग्न भएको भन्दै सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगानालाई गत भदौ १६ गते निलम्बन गर्यो। अध्यक्ष निलम्बनमा परेदेखि सेबोनबाट हुनुपर्ने धेरै नीतिगत कामहरु रोकिएका छन्। 

सरकारद्वारा गठित छानबिन समितिले ढुंगाना भित्री कारोबारमा संलग्न रहेको प्रमाणसहितको प्रतिवेदन बुझाएपछि गत असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बर्खास्त नै गरिसकेको छ। हिजोमात्रै सेबोनमा नयाँ अध्यक्ष नियुक्तिलाई दरखास्त आह्वान गरिएको छ। 

लामो समयदेखि सेबोनमा अध्यक्ष नहुँदा ब्रोकरको टीएमएस, ब्रोकरको शाखा विस्तार, बैंकलाई ब्रोकर लाइसेन्स, विशिष्टीकृत लगानी कोषको लाइसेन्सका साथै पाइपलाइनमा रहेका आईपीओहरुको स्वीकृति पनि रोकिएको छ। अहिले सेबोनमा झन्डै २० वटा कम्पनीका आईपीओको स्वीकृतिका लागि पाइपलाइनमा छन्। १२ वटा कम्पनीको प्रारम्भिक समीक्षा हुन् बाँकी छ, ३ वटा कम्पनीहरुको समीक्षा भइसकेको छ भने ५ वटा कम्पनीहरु समीक्षाको प्रक्रियामा छन्।

सेबोनमा अध्यक्ष नहुँदा महिनौँदेखि प्रक्रियामा रहेको आईपीओ स्वीकृति नभएको एक मर्चेन्ट बैंकका सञ्चालकले बताए। ती सञ्चालकले भने, ‘केही क्यापिटलहरुको म्युचुअल फन्ड पनि स्वीकृति भएको छैन। आईपीओ जारी गर्ने प्रबन्धक मात्र नभएर प्रमोटर साथै लगानीकर्ताहरु पनि अन्योलमा छन्।’

सेबोनकी सूचना अधिकारी तथा उपकार्यकारी निर्देशक दीपा दाहाल सेबोनमा अध्यक्ष नभएकाले आईपीओ स्वीकृति हुन नसकेको बताउँछिन्। ‘अहिले बोर्डले पाइपलाइनमा भएका कम्पनीहरुको आईपीओ स्वीकृतिका लागि बोर्ड मिटिङमा पेस गर्न निर्देशन दिइएको छ’, उनले भनिन्, ‘केही डिभेन्चरहरुको स्वीकृति भइसकेको छ। अब पाइपलाइनमा रहेका म्युचुल फन्डहरुको पनि स्वीकृति दिने काम सुरु हुनेछ।’