– अनन्त्य सुन्दर

काठमाण्डौ । सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने विषयमा अध्ययन सुरु गरेको छ। 

नेप्सेले आईपीओ निष्कासन गर्दा नेप्सेलाई थप व्यवस्थापनमा सहज हुनुका साथै मार्केटमा अन्य टुल्सहरु सञ्चालनमा ल्याउन सहज हुने वित्तीय विज्ञहरुले बताउँदै आएका छन्। 

नेप्सेका एक उच्च अधिकारी अधिकारीले नेप्सेले चुक्तापुँजीको २५ देखि ३० प्रतिशतसम्मको साधारण सेयर निष्कासन गर्ने विषयमा अध्ययन गरिरहेको जानकारी दिए। ‘आईपीओ निष्कासन गर्ने सम्भावना प्रबल छ’, ती अधिकारीले बिजशालासँगको कुराकानीमा भने, ‘सार्वजनिक सेयर निष्कासनका साथै नेप्सेको पुँजी वृद्धिको कुरा पनि उठेको छ। नेप्सेको अहिले भएको १ अर्ब पुँजी वृद्धि गरेर ३ अर्ब पुँजी बनाउने प्रबल सम्भावना देखिन्छ।’

यसैबीच नेप्से र अर्थ मन्त्रालयबीच केही दिनअघि कार्यसम्पादन सम्झौता भएको छ। उक्त सम्झौतामा धेरैवटा विषयहरु समेटिए पनि मुख्यतया तीनवटा विषयलाई प्राथमिकतामा राखिएको छ। ‘सम्झौतामा पनि नेप्सेको सार्वजनिक सेयर निष्कासन, डेरिभेटिभ र अप्सन मार्केट सुचारु र सिस्टम प्रतिस्थापनलाई प्राथमिकतामा राखिएको छ’, ती अधिकारीले भने। 

लगानीकर्तालाई अनलाइन अर्डर दिनुका साथै ट्रेडिङ, सेटलमेन्टका साथै क्लियरिङका लागि नेप्सेले सन् २०१८ देखि नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) सुचारु गरेको छ। ‘लगानीकर्ताहरुको संख्या बढेसँगै अनलाइन प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नट्स प्रणाली प्रतिस्थापनका लागि पनि सम्झौतामा उल्लेख गरिएको छ’, ती अधिकारीले भने, ‘त्यसका साथै डेटा सेन्टरमा बेलाबेलामा समस्या आउने गरेकाले त्यसमा पनि काम अघि बढाउने सम्झौतामा उल्लेख गरिएको छ।’ 

नेप्सेले डेरिभेटिभ, अप्सनलगायत अन्य मार्केट सञ्चालनबारे पनि सम्झौतामा उल्लेख गरिएको ती अधिकारीले बताए।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बिजशालासँग अर्थ मन्त्रालयसँग सम्झौता भएसँगै बजारका सम्बन्धित कन्सल्टेन्टहरुसँग डेरिभेटिभ, अप्सनलगायतको मार्केट सञ्चालनबारे अध्ययन र छलफल अगाडि बढाउने बताए। ‘डेरिभेटिभ, अप्सनलगायतका टुल्स सञ्चालनमा ल्याउँदा लाग्ने लागत, आवश्यक पूर्वाधार, जनशक्तिलगायतका विषयमा सम्बन्धित निकायहरुसँग छिट्टै नै छलफल अघि बढाउँछौँ’, उनले भने, ‘सम्बन्धित निकायहरुसँग ती टुल्सहरुको विभिन्न पक्षबारे अध्ययन र छलफलपछि मात्र अन्य कामहरु अगाडि बढ्छ।’