काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ भर्दा लाग्ने सी–आस्बा शुल्क घटाउने तयारी गरेको छ। 

सेबोनको आइतबार बसेको सञ्चालक समितिको बैठकमा सी–आस्बा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको बैठकमा सहभागी एक अधिकारीले बताए। ‘हिजोको बैठकमा सी–आस्बा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको हो’, उनले भने, ‘सी–आस्बा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था सेबोनले गर्न लागेको छ।’

ती अधिकारीले सी–आस्बा शुल्क घटाउने निर्णय छिट्टै गरी कार्यान्वयनमा ल्याइने बताए। ‘सेबोनले सी–आस्बा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्नेछ, बैंक तथा वित्तीय संस्थाले सोभन्दा कम पनि लिन पाउनेछन्’, ती अधिकारीले भने।

हाल यस्तो शुल्क अधिकतममा १०० रुपैयाँ लिन पाउने व्यवस्था छ। अहिले ४ वटा वाणिज्य बैंकहरुले निःशुल्क रुपमा सी–आस्बा सेवा प्रदान गर्दै आएका छन् भने बाँकी १० रुपैयाँदेखि १०० रुपैयाँसम्म सी–आस्बा शुल्क उठाउँदै आएका छन्।

लामो समयदेखि लगानीकर्ताहरुले सी–आस्बा सेवा निःशुल्क हुनुपर्ने माग गर्दै आएका छन्। सेबोनले सी–आस्बा शुल्क अधिकतममा ५ रुपैयाँ लिन पाउने व्यवस्था कार्यान्वयनमा ल्याए लगानीकर्ताहरुलाई ठूलै राहात हुनेछ।