काठमाण्डौ । आईपीओ ल्याउन लागेको एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गरेको छ। 

कम्पनीको गत भदौ २१ गते सम्पन्न विशेष साधारणसभा र गत भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेको हो। सोहीबमोजिम कम्पनीले चुक्तापुँजीको २०.५२५ प्रतिशतले हुन आउने हकप्रद बिक्री खुला गरेको छ। 

कम्पनीले साविकका सेयरधनीहरुलाई आफूले तत्काल चुक्ता गरेको सेयरँपुजीको अनुपातमा हकप्रद सेयर खरिदका लागि कम्पनीको नाममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा रहेको खातामा रकम दाखिला गरी कम्पनीको लेखा शाखामा उपलब्ध गराउन आग्रह गरेको छ। यसका लागि कम्पनीले ३५ दिनको अवधि दिएको छ। 

हकप्रदबारे थप जानकारी कम्पनीको काठमाण्डौ तीनकुनेस्थित रजिस्टर्ड कार्यालयमा सम्पर्क गर्न सकिने पनि कम्पनीले जनाएको छ। 

यो कम्पनीले सर्वसाधारणका लागि आईपीओ ल्याउन गत वर्ष पुस ४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ६ हजार ९०९ कित्ता आईपीओ बिक्री खुला गर्नेछ।