काठमाण्डौ । नेपाल आयल निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने योजना बनाएको छ। 

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मंगलबार नेपाल एलपी ग्यास उद्योग संघको २८ औँ वार्षिक साधारणसभामा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी भइरहेको बताएका हुन्। उनले कम्तीमा दुईवटा आर्थिक वर्षमा फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले आईपीओ जारी गर्न निगम प्रतिबद्ध रहेको बताए। उनले सर्वसाधारणलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने पनि जानकारी दिए।

व्यवसायीहरुलाई स्टेकहोल्डर बनाउने र सर्वसाधारणलाई आईपीओ दिने तयारी रहेको थानीको भनाइ थियो। विभिन्न प्राविधिक पक्ष रहेकाले केही समय लाग्ने पनि उनले बताए।

थानीले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औँ पटक संशोधन भएको बताए। ‘कम्तीमा दुई आर्थिक वर्ष फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने व्यवस्था छ, निगम यसमा प्रतिवद्ध छ’, उनले भने, ‘अब जनतालाई नै ओनरसिप बनाउने हो।’ 

विभिन्न प्रक्रियागत तयारी गर्नुपर्ने भएकाले सर्वसाधारणलाई सेयरधनी बनाउन केही समय लाग्ने थानीले बताए। ‘सबैले निगमप्रति ओनरसिप लिनका लागि पनि आईपीओ जारी गर्नैपर्छ’ उनले भने, ‘व्यवसाय स्टेकहोल्डरहरुलाई पनि दिने र केही आमजनतामा दिनेगरी तयारी गरिरहेको अवस्था छ।’

सरकारमातहतका ३६ वटा सार्वजनिक संस्थानमध्ये नेपाल आयल निगममा सरकारको सतप्रतिशत लगानी छ। यदि आईपीओ जारी गर्न दिएमा त्यसमा जनताको पनि स्वामित्व हुनेछ। 

उता नेपाल विद्युत् प्राधिकरणले पनि आईपीओ जारी गर्ने प्रक्रिया सुरु गरेको छ। प्राधिकरण विद्युत् व्यापार, उत्पादन, वितरण तथा प्रसारण गर्दै आएको सरकारी कम्पनी हो। प्राधिकरण नेपालका ठूलामध्ये एउटा सार्वजनिक संस्थान पनि हो। उसले प्रिमियम मूल्यमा ठूलो परिमाणमा आईपीओ जारी गर्न सरकारी निकायसँग अनुमति मागेको छ। 

सेयर बजारमा प्रवेश गर्ने ती दुई ठूला सार्वजनिक संस्थानको योजना सार्वजनिक भएपछि त्यसले देशको पुँजीबजारमा कस्तो असर पार्ला भन्ने चर्चा हुन थालेको छ।

विगतमा नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)ले डेढ करोड कित्ता सेयर ६०० रुपैयाँको प्रिमियम मूल्यमा बेचेको र त्यसले बजारमा निकै सकारात्मक प्रभाव परेको पुँजीबजार विश्लेषकहरु बताउँछन्।