काठमाण्डौ । सेयर बजार बढ्दै जाँदा जोखिम पनि बढ्दै गएको हुन्छ। प्रायः साना तथा नयाँ लगानीकर्ता जताजता धेरै खरिदकर्ता देखिन्छन्, उतैउतै लाग्ने गरेका हुन्छन्। 

पछिल्लो समय सेयर बजार बढ्दै जाँदा विकृति पनि बढ्दै गएको पाइएको छ। अहिले त सामाजिक सञ्जालदेखि लिएर क्लब हाउस तथा भाइबर ग्रुप प्रयोग गरेर सेयर बजारमा चलखेल गर्ने काम भइरहेको ब्रोकर हाउसमा भेटिएका केही लगानीकर्ताहरुले गुनासो गरेका छन्।

ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ता मार्केट डेप्थ देखाउँदै भने, ‘हिजो नै क्लब हाउसमा एक नाम चलेका लगानीकर्ताले आईसीएफसी फाइनान्सलगायत केही कम्पनीको नाम तोकेर सेयर किन्न सुझाव दिएका थिए। ल हेर्नुस्, आज आईसीएफसी फाइनान्सको मात्रै ११ जनाले ८ लाख कित्ताभन्दा बढी सेयर खरिद अर्डर गरेका छन्। यो कम्पनीको मात्रै १० लाखभन्दा बढी कित्ता खरिद अर्डर भएको छ।’ 

यस किसिमको चलखेलमा ब्रोकरहरुले पनि साथ दिइरहेको ती लगानीकर्ताको आरोप छ। ‘हामीलाई ४ लाख रुपैयाँ कोल्याट्रल हाल्न हिच्किचाउने ब्रोकरहरु यी लागनीकर्तालाई कसरी एकैपटक करोडौँको कोल्याट्रल दिए र दसौँ लाख कित्ता सेयर खरिदकर्ता मार्केट डेप्थमा देखिए ?’

ब्रोकर हाउसमै भेटिएका अर्का लगानीकर्ताले पनि केही दिनदेखि यो फाइनान्सको सेयरमा चलखेल सुरु भएको बताए। ‘चलखेलको असली रुप आज अझै प्रस्ट रुपमा देखियो’, उनले भने, ‘अहिले केही समूह मिलेर निश्चित कम्पनीका सेयरमा खेलिरहेका छन्। यसले साना तथा नयाँ लगानीकर्ता फस्ने निश्चित छ।’

नियामक निकायहरुले पनि यस्ता चलखेलमा चासो नदिँदा फट्याइँ गर्नेहरुको मनोबल बढिरहेको ती लगानीकर्ताको भनाइ छ। उनले भने, ‘खरिदतर्फ ठूलो मात्रामा खरिद अर्डर देखाएर त्यही समूहले सेयर बेचेको पनि हुन सक्छ। एचआईडीसीएलमा पनि पहिले त्यही नै भएको थियो।’ 

आजै दिउँसो २ः३० बजेको मार्केट डेप्थमा आईसीएफसी फाइनान्समा ३ जनाले यो कम्पनीको झन्डै ३ लाख कित्ता सेयर खरिद अर्डर गरेको देखिन्छ भने ११ जनाबाट झन्डै ८ लाख कित्ता सेयर अर्डर भएको छ।  

स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली एकै व्यक्तिलाई लाखाँै कित्ता खरिद आदेश गर्न दिँदा साना लगानीकर्ताले गुनासो गर्नु जायज नै रहेको बताउँछन्। ‘कुनै व्यक्तिले ठूलो मात्रामा खरिद अर्डर गर्नु सही नै हो वा चलखेल हो भन्ने विषयमा छानबिन गर्ने आधिकारिक निकाय सेबोन र नेप्से नै हो’, उनले भने। 

नेप्सेका एक उच्च अधिकारीले यस विषयमा आफूहरु जानकार रहेको र अनुसन्धान गरिरहेको बताए। ‘बजारमा कुनै पनि हालतमा चलखेल हुन दिँदैनौँ’, उनले भने।