काठमाण्डौ । साहस उर्जा लिमिटेडको आईपीओ बाँडफाँड आउँदो आइतबार हुने भएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाको आईपीओको आज शुक्रबार प्रि–अलटमेन्टको काम सकिनेछ। आउँदो आइतबार एनआईबिएल एस क्यापिटलकै कार्यालयमा एक कार्यक्रमबीच साहस उर्जाको आईपीओ बाँडफाँड गरिनेछ। 

गत असोज ६ गतेदेखि १० गतेसम्म साहस उर्जाको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता साधारण सेयर बिक्री खुला गरिएको थियो। यो आईपीओमा २४ लाख ६४ हजारभन्दा बढी आवेदन परेका छन्। ती आवेदनमार्फत ३ करोड ४८ लाख कित्ता बढी सेयर माग भएको थियो। ‘प्रिअलटमेन्टपछि अन्तिम डाटा छ’, क्यापिटलका एक अधिकारीले भने। 

कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

मागभन्दा बढी आवेदन परेकोले यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी ६ लाख ४४ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। 

कम्पनीले पहिलो चरणमा गत साउन २९ गतेबाट भदौ ११ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरिसकेको छ। 

यो कम्पनीले ८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ।