काठमाण्डौ । आगामी असोज महिनाबाट शुक्रबार सेयर कारोबार नहुने भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्कीले आगामी असोज महिनाबाट शुक्रबारका दिन सेयर कारोबार नहुने जानकारी गराएका हुन्। ‘आज बिहान नेप्से सञ्चालक समितिको बैठक बसेको थियो’, बिजशालासँगको कुराकानीमा उनले भने, ‘बैठकले असोज महिनाबाट शुक्रबार सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ।’

हाल आइतबारदेखि शुक्रबारसम्म सेयर कारोबार भइरहेको छ। शुक्रबारका दिन भने २ घन्टामत्रै सेयर कारोबार हुने गरेको छ। 

यसअघि गत जेठमा सरकारले परीक्षणका रुपमा सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यसपछि नेप्सेले पनि आइतबारबाट सेयर कारोबार बन्द गरेर शुक्रबार गर्ने निर्णय गरेको थियो।

पछि चौतर्फी आलोचना भएपछि सरकारले साउनबाट आइताबर सार्वजनिक बिदा दिने निर्णय खारेज गर्यो। तर नेप्सेले भने शुक्रबारको कारोबार २ घन्टामा छोट्याउँदै नियन्तरता दिइरहेको छ। 

शुक्रबारको कारोबार बन्द गर्न माग गर्दै लगानीकर्ताका साथै विभिन्न लगानीकर्ताका संगठनहरुले ज्ञापनपत्र पनि बुझाएका थिए। उनीहरुले अन्तर्राष्ट्रिय बजारमा सेयर कारोबार ५ दिनमात्रै हुने भएकोले नेपालमा सोही व्यवस्था गर्न माग गरेका थिए।