काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताएका छन्। 

अर्थमन्त्री शर्माले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको वातावरण, निजी क्षेत्रमैत्रीलगायतका बिषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने बताए। नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको बृहत आर्थिक बहस कार्यक्रमा शर्माले भने, ‘किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरुन्, व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेको खुसी पाउन्। हामी यो दृष्टिकोण राखेर बजेट निर्माणमा केन्द्रित छौँ।’

अहिलेको अर्थतन्त्रका बारेमा धेरै चिन्ता भइरहेको भन्दै शर्माले आगामी बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी पनि गरे। ‘म बजेटमार्फत किसानको बाँझो खेततर्फ फर्केन चाहन्छु, त्यता नफर्की उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सकिँदैन भन्ने लाग्छ’, उनले भने, ‘निर्यातलाई अब बिस्तारै बढाउँदै लैजानुपर्छ । निर्यात बढाउन हामीसँग उत्पादनको अथाहा सम्भावना छ।’

चालु आवको ८ महिनामा कुल वैदेशिक ब्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको भन्दै शर्माले आगामी दिनमा यो तथ्यांकलाई थप सुधार गर्न उत्पादन वृद्धिको विकल्प नरहेको बताए। चालु आवको ८ महिनाससम्ममा निर्यातले नयाँ किर्तिमान राख्दै १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएको थियो । जुन अघिल्लो बर्षको भन्दा ८२.९० प्रतिशत बढी हो।

कार्यक्रममा शर्माले बढ्दै गएको व्यापार घाटा कम गर्न थप के–कस्ता काम गर्न सकिन्छ भनेर सुझाव पनि मागरेका थिए। ‘आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुपर्छ । हाम्रो साधन स्रोतको अधिकतम प्रयोग गरेर पुँजी निर्माण गर्नुपर्नेछ । तर गर्ने कसरी ? मलाई यस बिषयमा सुझाव चाहिएको छ’, उनले भने। 

शर्माले बाह्क कारण अर्थतन्त्रमा असर परेको तर अर्थविद्हरुले व्यक्तिगत रुपमा आफ्नाबारेमा नकारात्मक टिप्पणी गरेको बताए। ‘केही विद्वानसाथीहरुले गरेको टिप्पणी सुनेको छु। कुन विश्वविद्यालयबाट ज्ञान हासिल गर्नुभएको हो, थाहा छैन। त्यो विश्वविद्यालयको नै बेइज्जत हुने देख्छु’, उनले भने। 

गत २५ भदौमा सार्वजनिक प्रतिस्थापन विद्येयकमार्फत चालू आबको आर्थिक वृद्धिदर ७  प्रतिशत हुने लक्ष्य लिएको र स्थिति सामान्य भएको भए लक्ष्यभन्दा बढी आर्थिक वृद्धिदर हासिल हुने स्थिति रहेको शर्माले दाबी गरे। ‘तर, बजेट घोषणालगत्तै केही समयपछि कात्तिक पहिलो साता बेमौसमे वर्षातले धान बालीमा ठूलो क्षति भयो। अहिले युक्रेन–रुस युद्धले विश्व अर्थतन्त्रसँगै नेपालको आयातुमखी अर्थतन्त्रलाई पनि असर गरेको छ’, उनले भने, ‘यसरी बाह्य कारणले ठूलो असर गर्दा हामीले सोचेजस्तो आर्थिक अवस्थामा देशको अर्थतन्त्रलाई राख्न नसकिएको बिषय सबैले बुझ्नुपर्छ।’

सरकारले नियमन गर्न सक्ने ठाउँसम्म पुगेर अर्थतन्त्रलाई सम्हालिरहेको पनि शर्माले जानकारी दिए। यसका साथै ६.७ महिनासम्मको वस्तु तथा सेवा आयात गर्न धान्ने विदेशी मुद्रा सञ्चित रहेकाले अहिले नै आत्तिनुपर्ने अवस्थामा नरहेको उनले बताए। 

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बाह्य तत्वको असरका कारण अर्थतन्त्र दबाब परेको बताए। उनले देशभित्रै उत्पादन र रोजगारी वृद्धि गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा आर्थिक संघका अध्यक्ष तथा बरिष्ठ अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेलले दुई अंकको आर्थिक वृद्धिदरसमेत संभव भएको भन्दै अर्थतन्त्रलाई बिस्तार गर्न सुझाव दिए। उनले उनले क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायतकाट पुँजी पलायन भइरहेको भन्दै नियमनका लागि शशक्त कदम चाल्नुपर्ने बताए। 

कार्यक्रममा अर्थशास्त्रीहरु प्राडा गोविन्द नेपाल, डा. पोषराज पाण्डे, केशव आचार्य र व्यवसायी पवन गोल्यानले विभिन्न सुझाव पेस गरेका थिए।