काठमाण्डौ। पछिल्लो समय कोरोना संक्रमणको मामिला घट्दै जान थालेपछि छिमेकी मुलुक भारतको राजधानी दिल्ली अनलक गर्ने तयारी सुरु गरिएको छ। 

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि अब दिल्लीमा लकडाउन हटाउने तयार भइरहेको बताएका छन्। केजरीवालले दिल्लीमा कोरोना संक्रमणका मामिला निरन्तर ओरालो लागिरहेको र चाँडै लकडाउन हटाइने बताए। ‘यसमा दुुई करोड दिल्लीवासीको साथ र सहयोग रहेको छ’, उनले भने, ‘दिल्लीका मानिसहरु एक महिनाभित्र कोरोनाको दोस्रो लहरलाई नियन्त्रणमा लिन सफल भएका छन्। 

पछिल्लो २४ घन्टामा दिल्लीमा कोरोना संक्रमण दर डेढ प्रतिशत रह्यो। कोरोना संक्रमणका करिब ११०० मामिलामात्र देखिएका छन्। ‘अब अस्पतालहरुमा बेडको कमी छैन’, केजरीवालले भने, ‘अहिले हर प्रकारका बेडहरु खाली छन्।’ 

मुख्यमन्त्री केजरीवालले अब दिल्ली अनलक गर्ने समय आएको बताए। ‘अब हामीहरु एकातर्फ कोरोना नियन्त्रण गर्नतर्फ लाग्छौ भने अर्कोतर्फ आर्थिक गतिविधिहरु सुचारु गर्छौं’, उनले भने। 

दिल्लीमा आउँदो सोमबार बिहान ५ बजेसम्म लकडाउन जारी गरिएको छ। ‘अब विस्तारै लकडाउन खुल्नेछ’, केजरीवालले भने। 

केजरीवालले दैनिक ज्यालामा काम गर्ने मजदुरलाई प्राथमिकता दिँदै निर्माण तथा कलकारखाना सोमबारदेखि खुला गरिने बताए। – एजेन्सी