काठमाण्डौ । छिमेकी मुलुक भारतमा आगामी जुलाई मध्यबाट अगस्टसम्म प्रतिदिन एक करोड जनतालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिइएको छ। 

भारतको केन्द्रीय सरकारले यो अवधिमा देशमा खोपको आपूर्ति बढाउँदै प्रतिदिन एक करोड जनतालाई खोप लगाउने लक्ष्य राखेको हो। कोभिड–१९ विरुद्धको खोप अभियानका लागि बनेको कार्यदलका अध्यक्ष डा एनके अरोडाले अगस्टसम्म ‘मेड इन इन्डिया’ अर्थात भारतमा बनेको लगभग २५ करोड खोप उपब्ध हुनेछ। ‘सिरम इन्स्टिच्युट अफ इन्डियाले पत्र पठाउँदै जुनको अन्त्यसम्म १०–१२ करोड खोप बनाउने जनाएको छ, जुन उक्त कम्पनीको उत्पादन क्षमताभन्दा ५० प्रतिशत बढी हो’, उनले भने, ‘यही कारण जुलाईको अन्त्यसम्म यो कम्पनीले प्रतिमहिना १०–१२ करोड खोप तयार गर्नेछ।’

यसका साथै अन्य खोप उत्पादकहरु तथा विदेशबाट स्पुतनिक भी, फाइजर र मोडर्ना खोप पनि भारतमा उपलब्ध हुने अरोडाले जानकारी दिए। ‘अगस्टसम्म हामीसँग प्रतिमहिना २०–२५ करोड डोज खोप हुनेछ’, उनले भने, ‘अनि हाम्रो लक्ष्य प्रतिमहिना १ करोड मानिसलाई खोप लक्ष्य हुनेछ।’

यसैबीच भारतमा कोरोना संक्रमणको मामिला लगातार घटिरहेको छ। पछिल्लो २४ घन्टामा भारतमा १ लाख ५२ हजार ७३४ नयाँ संक्रमित फेला परेका छन्। जुन पछिल्लो ५० दिनयताकै कम हो। यो अवधिमा थप ३ हजार १२८ जनाको मृत्यु भएको छ। – एजेन्सी