– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साता सेयर बजारमा झन्डै १२५ अंकले ओरालो लाग्यो। कारोबार पनि अघिल्लो साताको तुलनामा झन्डै ४० प्रतिशतको गिरावटसँगै ८१ अर्ब रुपैयाँबाट ४९ अर्ब रुपैयाँमा सीमित भयो। बजार जानकारहरु घट्दो बजारमा कारोबार कम हुनु सकारात्मक नै मान्नुपर्ने बताउँछन्। किनकि यसले लगानीकर्ताहरुले सेयर घाटा खाएर बेच्न नचाहेको प्रस्ट हुने उनीहरुको तर्क छ। 

अहिले राजनीतिक माहोल र आर्थिक वर्षको समाप्ति नजिकिँदै गएकोले सेयर बजारमा केही दबाब पक्कै परेको छ। यहाँ आमलगानीकर्ताले बुझनुपर्ने के देखिन्छ भने सेयर बजार बढेको बढ्यै गर्दैन। कुनै पनि चिज माथि जानका लागि शक्ति आवश्यक हुन्छ भन्ने विषय विज्ञानले पुष्टि गरेको छ। सेयर बजारमा पनि त्यही नै हो। प्राविधिक रुपमा पनि बजार जति तल आउँछ गणितीय सिद्धान्त फिवोनासीका आधारमा पनि बजार फेरि माथि जान्छ भन्ने नेपालको २८ वर्षको सेयर बजारको इतिहासले पुष्टि गरिसकेको छ। त्यसैले सेयर बजार फेरि कुनै न कुनै विन्दुमा टेवा लिएर माथि जानेमा ढुक्क हुन सक्ने अवस्था अझै रहेको जानकारहरु बताउँछन्। 

बजारको यही महौलबीच आज हामीले नेप्सेमा सूचीकृत २६ वटा वाणिज्य बैंकमध्ये एउटा सानिमा बैंकलाई आधारभूत तथा प्राविधिक रुपमा विश्लेषण गर्ने कोसिस गरेका छौँ। 

आधारभूत पक्ष

सानिमा बैंकको उपत्यकामा १९ वटा र उपत्यकाबाहिर ६७ वटा शाखा रहेका छन्। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको सेयरपुँजी ९ अर्ब ६८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। रिर्टन अन अर्निङमा १ अर्ब ९ करोड रुपैयाँ रहेको यो बैंकले समीक्षा अवधिसम्म १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २५.७३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ रहेको छ। यो अवधिसम्म बैंकले निष्क्रिय कर्जा गत वर्षको यही अवधिको तुलनामा ०.३६ प्रतिशतबाट घटाएर ०.२१ प्रतिशतमा झार्न सफल भएको छ। 

बैंकले रिर्टन अन इक्विटीमा अघिल्लो वर्षको तुलनामा बढाएर १९.६८ प्रतिशतबाट २०.५६ प्रतिशत पुर्याएको छ। निष्क्रिय कर्जा घट्नु र रिर्टन अन इक्विटी बढ्नुले बैंकको आधारभूत पक्ष सबल देखिन्छ।

बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बैंकिङ क्षेत्रमा लामो अनुभव बोकेका भुवनकुमार दाहाल रहेका छन्। बैंकको सेयरपँुजी अनुपात सर्वसाधरणको ४९ प्रतिशत र संस्थापकको ५१ प्रतिशत रहेको छ। बैंकको १० वर्षको औसत लाभांशदर १४ प्रतिशत रहेको छ।

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार  सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण मानिन्छ। 

इलिअट वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरु सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वटा वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सी बजार तल जाने संकेत गर्छ। 

सानिमा बैंकले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा इन्टरमिडियट डिग्रीअन्तर्गत वेभ (३) चलेको देखिन्छ भने माइनर डिग्रीअन्तर्गत वेभ ५ पूरा भएर इन्टरमिडियट डिग्रीको (४)  तथा माइनर वेभको ए, बी र सी चल्दा यो बैंकको भाउमा करेक्सन आएको छ। यो चक्र पूरा गरेपछि इन्टरमिडियट डिग्रीको वेभ (५) तथा फिवोनासी एक्सटेन्सनको वृद्धि ४.२३ प्रतिशतसम्म भएमा यो बैंकको सेयरभाउ लगभग ७०० रुपैयाँसम्म आउने बुलमा पुग्नसक्ने अनुमान लगाउन सकिन्छ। (मुख्य तस्बिरमा हेर्नुहोस्)

फिवोनासी सिद्धान्तका आधार 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो औजारअन्तर्गत आगामी दिनमा यदि यो बैंकको सेयरभाउ बढेमा १.६१ प्रतिशतको वृद्धि ५४५ रुपैयाँ    हुनेछ भने २.६१ प्रतिशतको वृद्धि ६०० रुपैयाँ, ३.६१ प्रतिशतको वृद्धिमा ६५० रुपैयाँ तथा ४.२३ प्रतिशतको वृद्धिमा लगभग ७०० रुपैयाँसम्म पुग्ने देखिन्छ। यही सिद्धान्तअन्तर्गत यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवामा ४७६ रुपैयाँ, ०.३८ प्रतिशतको टेवामा ४५५ रुपैयाँ र ०.५ प्रतिशतको टेवामा ४३६ रुपैयाँसम्म सेयरमूल्य आउन सक्ने देखिन्छ। 

एमएसीडी लाइनका आधार

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने केही   दिन पहिला एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको र बियरिस सिग्नल बनेको देखिन्छ। (हेर्नुस रातो एरो) जसले बियरिस सिग्नल अझै भ्यालिड रहेको देखिन्छ। हिस्टोग्राम नेगेटिभ  र लामा–लामा हुँदै गएकोले केही समय बियरिस नै रहने अनुमान लगाउन सकिन्छ। (हेर्नुस कालो एरो)

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो बैंकको मूल्यरेखाले माथिल्लो ब्यान्डलाई छोएको तथा इनभर्टेड ह्याम्मर बनाएर मूल्य घटेको छ। यसले तल्लो ब्यान्ड छुन खोजेको देखिन्छ। बिहीबारको अन्तिम कारोबारले माथि लामो धागो (हेर्नुहोस् कालो एरो) बनाएर हरियो क्यान्डल बनेको छ। यसले अझै खरिदको अवस्था नआइसकेको जनाउँछ। 

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो बैंकको हालको आरएसआई ५३.५६ रहेको छ। जसको अर्थ हुन्छ न्युट्रल  जोन नजिक छ र अघिल्लोपल्ट यो उच्च विन्दु ८३.४९ को तहमा पुगेपछि करेक्सन आएको थियो भने न्यून ४१ को तहमा पुगेपछि सेयरभाउ उकालो लागेको थियो। यसलाई आधार मान्ने हो भने आगामी दिनमा यो बैंकको सेयरभाउ केही घटेर सुधार आउने देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– ४७३

प्रतिरोध २– ४७७

प्रतिरोध ३– ४८५

पिभट प्वइन्ट : ४६९

घटेमा सर्पोट 

सपोर्ट १– ४६५

सर्पोट २– ४६१

सर्पोट ३– ४५३

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस होइन।