रुकुम । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताएका छन्।

रुकुम सदरमुकाममा सोमबार पत्रकार महासंघ शाखा कार्यालय रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित हुन थालेको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउन शुरु गरेको जानकारी दिए। ‘आगामी आबको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने गरी छलफल अगाडि बढाएका छौँ’, उनले भने, ‘आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषि क्षेत्रले धेरै मदत गर्ने विश्वास छ।’ 

कुल वैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै शर्माले आगामी आवदेखि प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताए। 

शर्माले प्रमुख सहरसँग ग्रामीण क्षेत्रको दूरी घटाउने गरी पूर्वाधार विकास गर्नेतर्फ पनि बजेटले ध्यान दिने बताए। ‘एउटा सहरबाट अर्को सहरको दूरी घटाउने योजना बनाएका छौँ। उदाहरणका लागि काठमाण्डौबाट पोखराको सडक दूरी २ घन्टा कायम गराउने गरी योजना बनाइरहेका छौँ। अन्यत्र पनि यस्तै योजना बनाउँदैछौँ’, उनले भने, ‘ग्रामीण अर्थतन्त्र सुधारमा हामी विशेष ध्यान दिँदैछौँ। ग्रामीण क्षेत्रका उत्पादनले सहजै बजार पहुँच पाउने कुराको सुनिश्चितता गरिनेछ।’

शर्माले जनतामा आधारित विकास मोडललाई समेत बजेटमार्फत कार्यान्वयन गर्ने बताए। ‘जनताले विकासको अनुभूति गर्ने किसिमको पूर्वाधार निर्माण योजना अघि बढ्नेछन्’, उनले भने, ‘निर्माण कार्य गुणस्तरीय होस् भन्ने कुरामा उत्तिकै ध्यान दिइनेछ।’

शर्माले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, सुन–चाँदी, खानेतेल, प्लास्टिक, डन्डी तथा डन्डीजन्य बस्तु, ढुवानीमा प्रयोग हुने पानीजहाज तथा कन्टेनरको भाँडादरलगायतको मूल्य शृंखलामा भएको वृद्धिले नेपालमा समेत मूल्यवृद्धिमा चाप परिरहेको बताए। यद्यपि, मूल्यवृद्धिका लागि राखिएको वार्षिक लक्ष्यको वाञ्छित सीमाभित्रै रहेकाले अत्तालिनुपर्ने स्थिति नरहेको उनले बताए। 

शोधानान्तर घाटालाई विस्तारै सुधार गर्दैै लगेको तथा तरलता अभाव केही दिनभित्रै समाधानउन्मुख भएकाले अर्थतन्त्र विस्तारै लयमा आउने विश्वास शर्माले दिलाए। अहिले अवैध डिजिटल कारोबारका कारण दैनिक ५० करोड रुपैयाँ बाहिरिन थालेको भन्दै उनले यस्ता गतिविधि रोक्न सबै संयन्त्र परिचालन गरेको बताए।