काठमाण्डौ । सेयर लगानीकर्ताका अगुवाहरुले आगामी बजेटका लागि आफ्ना सुझाव पेस गरेका छन्।
अर्थमन्त्री जनार्दन शर्माले आज अर्थ मन्त्रालयमा आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटको सम्बन्धमा बैंक तथा वित्तीय संस्थाका सीईओ, बीमा कम्पनीहरुका सीईओ, वित्तीय विज्ञ, लगानीकर्ताका साथै अन्य सरोकारवालासँग छलफल गरेका गरेका थिए। सोही छलफलमा सेयर लगानीकर्ताहरुको प्रतिनिधित्व गर्दै नेपाल ईन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार र सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल उपस्थित थिए।
रौनियारले अर्थमन्त्री शर्मालाई ८ वटा बुँदागत सुझाव दिएको बताए। रौनियारका अनुसार अर्थमन्त्री ती सुझावप्रति सकारात्मक छन्।
के के छन् त सुझावमा ?
- अहिले सञ्चालनमा भएको टीएमएस, मेरो सेयरमा समस्या आउने भएकाले क्रस बोर्डर टेस्टटेड अन्तर्राष्ट्रियस्तरको प्रणाली ल्याउन बजेटमा नै रकम विनियोजन गर्न,
- गैरआवासीय नेपालीलाई तत्काल नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्न,
- अहिलेको ब्याजदरले लगानीकर्ता र व्यवसायी सबै मारमा परेकाले नबढ्ने एकल ब्याजदर आउने बजेटमा नै समेट्न,
- सेयर बजारलाई नकारात्मक प्रभाव पारेको नीति जस्तै ४–१२ को क्यापलाई आउने बजेटमा नै सम्बोधन गर्न,
- क्यापिटल गेन ट्याक्सको फाइदा पौँचवालाहरुले मात्र पाएकाले आमलगानीकर्ताले महसुस हुने गरी बजेटमार्फत नै क्यापिटल गेन ट्याक्स अन्तिम कर हो भनेर घोषणा गर्न,
- प्राथमिक बजार देशव्यापी भएकाले बजार विस्तार र विकासका लागि वाणिज्य बैंक तथा सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स वितरण। त्यसका साथै पुँजी, पूर्वाधारलगायतले योग्यव्यक्ति र संस्थाहरुलाई पनि ब्रोकर लाइसेन्स वितरण गर्न,
- सीसीडीबाट सीडी रेसियो कायम हुँदा बैंकमा तरलता समस्या आएकाले पुनः सीसीडी नै कायम गर्न,
- लगानीकर्ताहरुले कम्पनीको सेयर किन्दा र बेच्दा तिर्दै आएका दोहोरो चर्को ब्रोकर कमिसन घटाउन।