काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको रु. ३५ करोड ६४ लाख बढीको आईपीओ आज बुधबारदेखि निष्कासन तथा बिक्री खुला गरिएको छ।  

कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुन आउने रु ३७ करोड ५० लाख रुपैयाँबराबरको रु. १०० अंकित ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्कासन गरिएकोमध्ये बाँकी रहन गएको १३ लाख १४ हजार ९३० कित्तासमेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता (सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको कित्तासमेत) सेयर सर्वसाधारणमा निष्कासन गरेको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा भदौ ७ गते र ढिलामा भदौ १७ गते (बैंकिङ समयपछि) हुनेछ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। 

यसअघि कम्पनीले आयोजना प्रभावितका लागि साउन ७ गतेदेखि साउन २१ गतेसम्म रु. १५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। 

यो आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ प्राप्त गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको देखाउँछ।

कम्पनीको हाल अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब १२ करोड ५० लाख रहेकोमा अधिकृत पुँजीको २५% का दरले सैतिस करोड पचास लाख बराबरको ३७,५०,००० कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणहरुमा जारी गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु १ अर्व ५० करोड हुनेछ। 

कम्पनीले हाल निर्माण गरिरहेको २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिकामा अवस्थित छ। उक्त आयोजनाको हाल टनेल निर्माण तथा पेनस्टक पाईप राख्ने काम सम्पन्न भएको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको सिभिल निर्माण कार्य समेत सम्पन्न भएको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान कार्य अन्तिम चरणमा पुगेको छ। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तिय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करिब ९८% सम्पन्न भई आगामी कार्तिक मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ। 

विश्वव्यापी रुपमा कोरोना भाईरस महामारीको कारणले गर्दा विदेशबाट समयमै बाँकी केही उपकरणहरु तथा प्राविधिकहरु आयोजना निर्माण स्थलमा ल्याउन कठिनाई भएकोले यस आयोजनाको साविकको विद्युत उत्पादन गर्नुपर्ने गतवर्षको चैत्र मसान्तमा विद्युत उत्पादन सम्भव नभई आयोजनाको व्यापारिक उत्पादन गर्नुपर्ने आगामी कार्तिक मसान्तसम्म थप गरिने भएको कम्पनीको दाबी छ।

यस आयोजनाको पानीको स्रोत दोर्दी खोला हिमनदी भएको र उपलब्ध पानी सिंचाई लगायत अन्य प्रयोजनमा प्रयोग नहुने भएकोले बहाव राम्रो रहेको छ। साथै आयोजनामा युरोपियन उत्पादकको इलेक्ट्रोमेकानिकल उपकरण प्रयोग तथा पावर हाउस सँगै रहेको सव–स्टेशनमा उत्पादित विद्युत जोडिने भएकोले प्रशारण नोक्सानी नहुने लगायतका कारणले यस आयोजना आकर्षक रहेको छ,कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

कम्पनीले उल्लेखित आयोजनाबाहेक बाग्लुङ जिल्लामा २४.६ मे.वा. क्षमताको बडिगाढ खोला जलविद्युत आयोजना र लमजुङ जिल्लामै १.६ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको समेत सर्भेक्षण अनुमतिपत्र प्राप्त गरी आवश्यक सर्भेक्षण कार्य गरिरहेको कम्पनीको भनाइ छ।