काठमाण्डौ । भर्खरै आईपीओ बिक्री गरेको एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा आज बुधबारदेखि खुल्दैछ।

नेपाल स्टक एक्सचेन्जमा हिजो मंगलबार यो कम्पनीको १ करोड १३ लाख २६ हजार ८२१ कित्ता साधारण सेयर सूचीकृत भएसँगै आज बुधबारबाट कारोबार खुल्न लागेको हो। नेप्सले यो कम्पनीको सेयर कारोबारका लागि ओपनिङ रेन्ज १०२.०६ रुपैयाँदेखि ३०६.१८ रुपैयाँ तोकेको छ। कम्पनीले कारोबार संकेत भने एनआरएन पाएको छ। 

यो कम्पनीको सेयर आज स्पेसल प्रिओपनिङ सेसन (बिहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्म) मा नेप्सेले तोकेको प्राइस रेनजमा एकपटक कारोबार भएपछि मात्र नियमित समय (११ बजेदेखि ३ बजेसम्म) मा धितोपत्र कारोबार हुनेछ। 

यो कम्पनी गत साउन १६ गतेदेखि साउन २१ गतेसम्म रु. १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको थियो भने २ प्रतिशत अर्थात् ६७ हजार ९६१ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको थियो। बाँकी ३१ लाख ६० हजार १८३ कित्ता सर्वसाधारणका लािग छुट्याइएको थियो।