काठमाण्डौ । हालै आईपीओ निष्कासन गरी बाँडफाँड गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ।

आज स्पेसल प्रिसेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको ओपनिङ रेन्जभित्र ज्योति लाइफको सेयर ३६० रुपैयाँमा किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो। यो कम्पनीको सुरुआती कारोबारका लागि नेप्सेले १२०.२९ रुपैयाँदेखि ३६०.८७ रुपैयाँ रेन्ज तोकेको थियो। अब यो कम्पनीको सेयर कारोबार जेएलआई संकेतबाट हुनेछ। 

नेप्से हिजो मंगलबार ज्योति लाइफको १ करोड ५४ लाख कित्ता संस्थापक सेयरसहित कुल २ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको थियो। 

यो कम्पनीले गत फागुन २१ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको थियो। बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो।