काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रु. २५ करोड बढीको आईपीओ आज वैशाख १७ गतेबाट निष्कासन गरेको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको हो। यो कुल २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको रहेको छ।

आईपीओको कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओमा सर्वसाधारणले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ। 

सीईडीबीको यो आईपीओको निष्कासन छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गते बैंकिङ समयपछि बन्द हुनेछ। धितोपत्र बिक्री प्रबन्धकमा भने सनराइज क्यापिटल लिमिटेड रहेको छ।

यो आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुन आउँछन्। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८३ करोड ९४ लाख रुपैयाँ बढी पुग्नेछ। 

आईपीओ बिक्रीपछि कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७०ः३० हुन आउनेछ। 

यस कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेका छन् । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रकसन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरु निर्माण भइरहेका छन् । साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका–२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ। 

कम्पनीले सन् २००९ मा स्थापना सीईडीबी हाइड्रोपावर लिमिटेडको चालु आ आर्थिक वर्षमा प्रतिसेयर आम्दानी (ईपीएस)  १३.०५ रुपैयाँ र प्रतिसेयर खुद सम्पत्ति १३८.७९ रुपैयाँ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा १०.५४ प्रतिशत र २०७६/७७ मा ७.३७ प्रतिशत नगद लाभांश बितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आर्थिक वर्षमा पनि लाभांश प्रदान गर्नेसमेत प्रक्षेपण गरेको छ।