काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज फागुन २३ गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले यही फागुन २५ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज फागुन २३ गते (फागुन २४ गते नारी दिवसमा सार्वजनिक बिदा)सम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

संस्थालेले आफ्नो २१ औँ वार्षिक साधारणसभा आउँदो चैत १० गते आयोजना गर्दैछ। सभा मकवानपुरको हेटौँडा–४स्थित होटेल सामनामा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको कुल २५.२६ प्रतिशतले हुन आउने ५८ करोड ७० लाख ६७ हजार ६६० रुपैयाँबराबरको लाभांश अनुमोदन गर्नेछ। जसमा २२ प्रतिशतले हुन आउने ५१ करोड १३ लाख २ हजार रुपैयाँबराबरको बोनस सेयर र ३.२६ प्रतिशतले हुन आउने ७ करोड ५७ लाख ६५ हजार ६६० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।