काठमाण्डौ । एनआईसी एसिया बैंक र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज असोज १५ गते अन्तिम दिन रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि दुवै बैंकले भोलि अजो १६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज असोज १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

एनआईसी एसिया बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभा यही असोज २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको भद्रकालीको आर्मी अफिसर्स क्लब बिहान ९ बजेबाट सुरु हुनेछ। यो दिन घटस्थापना परेको छ। 

सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको कुल ३०.५२६३ प्रतिशतले हुन आउने ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँबराबरको लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा २९ प्रतिशतले हुन आउने ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशतले हुन आउने १७ करोड ६५ लाख ३ हजार २४० रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। 

सोही सभाले बैंकको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ। 

यसैगरी एभरेष्ट बैंकले आफ्नो २९ औँ वार्षिक साधारणसभा यही असोज ३० गते काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा डाकेको छ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल २०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

बैंकले प्रस्तावित बोनस सेयर जारी भएपश्चात पुँजीवृद्धि हुने भएकोले सोहीबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति सभाले अनुमोदन गर्नेछ। 

सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।