काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत ६ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि चैत ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज चैत ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीका लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

कम्पनीले आफ्नो २१ औँ वार्षिक साधारणसभा यही चैत २१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा वीरगन्जको होटेल भिष्वामा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७६/७७ प्रस्तावित कुल १४.७३६४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा बोनस सेयर १४ प्रतिशत र कर प्रयोजनार्थ ०.७३६४ प्रतिशत नगद लाभांश छन्। 

बोनस सेयर वितरणपछि जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले कम्पनीको सेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने विशेष निर्णय पनि परिवर्तन गर्नेछ। हाल कम्पनीमा संस्थापक समूहको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत हिस्सा रहेको छ। 

सोही सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।