काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आजबाट दोस्रो बजारमा खुलेको छ। बिपिडब्लु लघुवित्तको सेयर कारोबार भने खुल्न सकेन।

आज स्पेसल प्रि–सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र आत्मनिर्भर लघुवित्तको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो। बिपिडब्लु लघुवित्तको सेयर भने नेप्सेले तोकेको रेन्जभित्र कारोबार हुन नसकेपछि कारोबार नखुलेको हो। अब भोलि नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएको खण्डमा बिपिडब्लुको सेयर कारोबारमा आउनेछ।

यी दुवै लघुवित्तको आईपीओ आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण सम्झौता भएका थिए। 

नेप्सेमा आत्मनिर्भर लघुवित्तको ६ लाख २३ हजार ३८० कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारण लगानीकर्ता (कर्मचारीसहित)को २ लाख ३ हजार ३८० कित्ता र संस्थापक समूहको ४ लाख २० हजार कित्ता छन्। 

यो लघुवित्तलाई नेप्सेले ‘एएनएलबी’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि यो लघुवित्तले प्रतिकित्ता न्यूनतम ३७१.८२ रुपैयाँ र अधिकतममा १११५.४६ रुपैयाँ ओपनिङ रेन्ज पाएको थियो। आज प्रिसेसनमा यो लघुवित्तको सेयर प्रतिकित्ता ४०३.८० रुपैयाँमा कारोबार भएको हो। 

यसैगरी नेप्सेमा बिपिडब्लुको ३ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारण लगानीकर्तालाई वितरण गरिएको (विदेशमा रहेका नेपाली श्रमिक र सामूहिक लगानी कोषसहित) ९७ हजार कित्ता र संस्थापक समूहको २ लाख ३ हजार कित्ता छन्। 

नेप्सेले बिपिडब्लु लघुवित्तलाई ‘बीपीडब्ल्यू’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो लघुवित्तलाई प्रतिकित्ता न्यूनतम ८६.७८ रुपैयाँदेखि अधिकतममा २६०.३४ रुपैयाँ तोकेको छ। भोलि यो रेन्जभित्र किनबेच भएमा सेयर कारोबार खुल्नेछ।