काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन सवैको साझा प्रयासको आवश्यकता औँल्याएका छन्। 

प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो आवश्यकता औँल्याएका हुन्। संविधानमा उल्लेख भएअनुसार समाजवादको आधार तयार पार्दै स्वाधीन अर्थतन्त्रको निर्माणमा सरकार लागिपरेको भन्दै उनले यसमा साथ दिन पत्रकारहरुलाई आग्रहसमेत गरे। 

अर्थमन्त्री शर्माले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न सरकारका तर्फबाट उपलब्ध गराउनुपर्ने स्रोत र साधनका लागि आफूले प्रयास गर्ने आवश्वासन पनि दिए। 

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका शर्माले जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने ध्येयका साथ बेला–बेलामा प्रतिगामी षड्यन्त्र पनि हुने गरेकाले त्यसका विरुद्ध सचेत खबरदारी गर्न सञ्चारकर्मीलाई आग्रह गरे। युद्धको जटिलताका बीच स्थापना भएको प्रेस सेन्टरले देश र जनताको  पक्षमा प्रतिवद्ध भएर कलम चलाउनुका साथै गलत कामको खबरदारी गर्नुपर्नेमा जोड उनले दिए। 

शर्माले कृष्णसेन इच्छुकजस्ता शहिदको बलिदानले स्थापित भएको संगठनले देश, जनता र समृद्धिको पक्षमा लाग्नुपर्ने उल्लेख गरे।