काठमाण्डौ । आत्मनिर्भर र बिपिडब्लु लघुवित्तको सेयर मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएका छन्। 

यी दुवै लघुवित्तको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण सम्झौता भएसँगै दोस्रो बजारमा मंगलबारबाट कारोबारमा आउने भएका हुन्। कुनै पनि कम्पनीको साधारण सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउने गर्छ। तर, भोलि अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदा परेकोले यी दुवै लघुवित्तको सेयर मंगलबारबाट कारोबारमा आउने भएका हुन्। 

नेप्सेमा आत्मनिर्भर लघुवित्तको ६ लाख २३ हजार ३८० कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारण लगानीकर्ता (कर्मचारीसहित)को २ लाख ३ हजार ३८० कित्ता र संस्थापक समूहको ४ लाख २० हजार कित्ता छन्। 

यो लघुवित्तलाई नेप्सेले ‘एएनएलबी’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि यो लघुवित्तले प्रतिकित्ता न्यूनतम ३७१.८२ रुपैयाँ र अधिकतममा १११५.४६ रुपैयाँ रहेको छ। 

यसैगरी नेप्सेमा बिपिडब्लुको ३ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारण लगानीकर्तालाई वितरण गरिएको (विदेशमा रहेका नेपाली श्रमिक र सामूहिक लगानी कोषसहित) ९७ हजार कित्ता र संस्थापक समूहको २ लाख ३ हजार कित्ता छन्। 

नेप्सेले बिपिडब्लु लघुवित्तलाई ‘बीपीडब्ल्यू’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो लघुवित्तलाई प्रतिकित्ता न्यूनतम ८६.७८ रुपैयाँदेखि अधिकतममा २६०.३४ रुपैयाँ तोकेको छ। 

यदि मंगलबार स्पेसल प्रि–ओपन सेसनमा यी दुवै लघुवित्तको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेचमा भएमा नियमित समयका लागि कारोबारमा आउनेछन्।